
विराटनगर । मोरङमा लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि व्यापक जनसहभागितासहित ‘लागूऔषधविरुद्धको महाअभियान–२०८३’ सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको अगुवाइमा सुरु भएको अभियानले लागूऔषधलाई केवल प्रहरी कारबाहीको विषय नभई सामाजिक चुनौतीका रूपमा प्रस्तुत गर्दै सामूहिक सचेतना र सहकार्यलाई केन्द्रमा राखेको छ ।
अभियानको शुभारम्भ आइतबार बिहान विराटनगरको महेन्द्र चोकबाट प्रभातफेरीसहित गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरकारी कार्यालय, विभिन्न संघसंस्था, विद्यार्थी, स्काउट, सञ्चारकर्मी तथा युवाहरू सहभागी प्रभातफेरीलाई प्रतिनिधिसभा सदस्य आशा झा ले उद्घाटन गरेकी थिइन् । प्रभातफेरी महेन्द्र चोकबाट जलजला चोक, गोल्छामोड हुँदै रंगशालासम्म पुगेको थियो ।
दोस्रो चरणको कार्यक्रम विराटनगरस्थित होटल मनास्लु इनमा आयोजना गरिएको थियो । कार्यक्रमको औपचारिक उद्घाटन हिक्मत कुमार कार्की ले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए ।
कार्यक्रममा ‘अन्धकारबाट उज्यालोतर्फ’ शीर्षकको नाटक, सचेतनामूलक सांगीतिक प्रस्तुति तथा पूर्व लागूऔषध प्रयोगकर्ता कपिलदेव आचार्यको अनुभव समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । वक्ताहरूले लागूऔषध दुर्व्यसनले युवापुस्तालाई गम्भीर संकटतर्फ धकेलिरहेको उल्लेख गर्दै परिवार, विद्यालय, स्थानीय तह र समुदाय सबैको संयुक्त भूमिका आवश्यक रहेको बताएका थिए ।
मुख्यमन्त्री कार्कीले लागूऔषध दुर्व्यसन समाजकै लागि चुनौतीपूर्ण बन्दै गएको भन्दै यसको नियन्त्रणमा सरकार र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताए । उनले मोरङबाट सुरु भएको अभियानले युवाहरूलाई कुलतबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की ले सुरक्षित समाज निर्माणका लागि अभियानलाई देशव्यापी रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । उनले लागूऔषध नियन्त्रण केवल प्रहरीको जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा दायित्व भएको बताए ।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्र मणि पराजुली, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, प्रमुख जिल्ला अधिकारी युवराज कटेल लगायतले पनि अभियानप्रति ऐक्यबद्धता जनाएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले मोरङमा बढ्दो लागूऔषध दुर्व्यसनको अवस्था र त्यसले निम्त्याएको चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरूले लागूऔषध नियन्त्रणका लागि तयार गरिएको ९ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै अभियान सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।




