
सत्यनारायण शर्मा
विराटनगर, साउन ९ गते ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत आर्थिक वर्ष २०८१÷८२ मा ३ हजार ५१३ जनालाई नियन्त्रणमा लिन सफल भएको छ। “अपराध गर्ने छुट कसैलाई छैन” भन्ने सन्देशसहित प्रहरीले पछिल्लो समय विशेष रणनीति, सूचना प्रविधिको प्रयोग र समुदायसँगको सहकार्यमार्फत उल्लेखनीय सफलता हात पारेको हो । प्रदेश प्रहरीका अनुसार अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तहरूलाई कानूनी दायरामा ल्याउने उद्देश्यले सो अभियानलाई तीव्रता दिइएको हो। प्रहरीका अनुसार यस्तो किसिमका अभियुक्तहरू खुलेआम समाजमा घुलमिल हुँदा सार्वजनिक शान्ति सुरक्षा कमजोर हुने, नागरिकमा त्रास बढ्ने र अपराधप्रतिको मनोबल उच्च हुने भएकाले फरार प्रतिवादी खोजी प्राथमिकतामा राखिएको छ । कोशी प्रदेशका १४ जिल्लामा प्रहरी परिचालनमार्फत जिल्ला अनुसार फरार प्रतिवादी पक्राउको विवरण यसप्रकार छ । मोरङवाट — १,१५६ जना ,सुनसरी — १,००२ जना झापा — ५३४ जना ,इलाम — १४६ जना ,पाँचथर — ४२ जना ,ताप्लेजुङ — ४८ जना ,धनकुटा — ५७ जना ,तेह्रथुम — ४५ जना , भोजपुर — ४४ जना ,संखुवासभा — २८ जना ,उदयपुर — २६० जना ,ओखलढुंगा — ६९ जना ,सोलुखुम्बु — १४ जना ,खोटाङ — ५३ जना प्रादेशिक अनुसन्धान समूह — १५ जना जम्मा ३ हजार ५१३ जनालाई पक्राउ गरिएको छ । उनीहरूबाट कुल १ हजार ४१६ वर्षभन्दा बढीको कैद सजाय कार्यान्वयनमा ल्याइनुका साथै जरिवानाबापत १४ करोड ७७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको कोशी प्रदेश प्रहरीले जानकारी दिएको छ । प्रदेश प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई अझ प्रभावकारी बनाउन आम नागरिकको सहयोग अपरिहार्य रहेको बताएको छ। गाउँ, टोल, छिमेकमा लुकीछिपी बस्ने फरार व्यक्तिको जानकारी नजिकको प्रहरी कार्यालयलाई दिन अनुरोध गर्दै प्रहरीले सूचना दिने व्यक्तिको गोपनीयता पूर्ण रूपमा सुरक्षित गरिने आश्वासनसमेत दिएको छ।