

नरेन्द्र रौले
सारांश
पाइलट शैलेश निरौलाले २० वर्षमा जम्मा २ पटक बहिनीसँग भाइटीका लगाएका छन् ।
बहिनी अमेरिकामा अध्ययन र रोजगारीका लागि गएपछि शैलेशले तिहारमा भेट्न पाएका छैनन् ।
शैलेशले आफ्नो पाइलट पेसामा १३ वर्ष विदेशमा बिताएका छन्, जहाँ उनले चाडबाड मनाउन पाएनन् ।
काठमाडौँ । बुद्ध एयरका पाइलट शैलेश निरौलाले पछिल्लो २० वर्षमा जम्मा २ पटक मात्र बहिनीसँग भाइटीका लगाउन पाए । बाँकी १८ वर्ष उनले बहिनीको हातबाट टीका लगाउन पाएनन् ।
तिहारमा आफूले टीका लगाउन नपाएको बेला अरुको निधार रङ्गिएको देख्दा शैलेशको मन भने कटक्क खान्थ्यो । बहिनीसँगै तिहार मनाउन पाएको हुन्थ्यो जस्तो लाग्थ्यो उनलाई ।
बहिनी सञ्जिता अध्ययन र रोजगारीको सिलसिलामा अमेरिका गएपछि शैलेशले मन खोलेर तिहार मनाउनै पाएका छैनन् । हरेक भाइटीकामा आफ्नै बहिनीबाट टीका लगाउने उनको रहर पूरा भएन । बरु काका, ठुला बुबाका छोरीहरूसँग उनले टीका लगाएर आफ्नी बहिनीको झ–झल्को मेटाए । बहिनीहरू काठमाडौँमा नहुँदा विराटनगर पुगेरसमेत उनले निधार रङ्ग्याएका छन् ।
पाँच वर्षदेखि बुद्ध एयरमा आवद्ध पाइलट शैलेशको यसपालिको तिहारमा पनि आफ्नै बहिनी सञ्जितासँग भेट हुने छैन । हाल उनी अमेरिकामै छिन् । आफ्नी बहिनीसँग भाइटीका लगाउन नपाउँदा शैलेशलाई कताकता नमज्जा लागि रहेको छ । तर, काका र ठुला बुबाकी छोरीहरूसँग यसपालि तिहार मनाउन पाउँदा भने उत्साह छाइरहेको उनले बताए ।
शैलेशलाई अचेल बिदाको समस्या पनि छैन । हाल बुद्ध एयरमा १० दिनमा ४ दिनमात्रै उडे पुग्छ । बुद्ध एयरले सञ्चालनमा ल्याएको नयाँ एटीआर ६०० मोडेलको जहाज उनीसहित सीमित पाइलटले मात्र उडाउने अनुमति पाएका छन् ।
बुद्ध एयरमा आवद्ध हुनु अघि पाइलट शैलेशले नेकोन एयर, अग्नि एयर, डेकेन एयर ९पछि किङफिसर० विङ्स एयर ९इन्डोनेसिया० मा लामो समय जहाज उडाए । झन्डै १३ वर्ष विदेश बस्दा उनी घर परिवारबाट टाढा भए । त्यो बेला उनले दसैँ, तिहार लगायतका चाडबाड मनाउन पाएनन् ।
रोजगारीका सिलसिलामा घर, परिवारबाट टाढा बस्नु पर्दा विशेष गरी तिहार ‘मिस’ गर्थे । उनकी बहिनी अध्ययनका लागि अमेरिका हिँडेपछि भेटघाट पनि पातलिँदै गयो ।
शैलेशका कैयौँ तिहार आकाशमै जहाज उडाएर बिते । चाडबाडको बेला अरु मानिस परिवारसँग घरमा रमाइलो गरिरहँदा पाइलट शैलेशले भने यात्रुहरूलाई उनीहरूको घरसम्म सुरक्षित पुर्याउन आकाशमै तिहार मनाउनु पर्यो ।
आकाशबाट सहरको झिलिमिली हेरेर कैयौँ पटक मन बुझाउनुपर्यो । ककपिटबाट तल जमिनमा बलिरहेका झिलिमिली बत्तीहरू, दियो र पटाकाहरु पड्केको दृश्य देख्न पाउँदा निकै सुन्दर लाग्छ, तर घरमा सँगै हुन नपाउँदा कता–कता खल्लो पनि लाग्थ्यो ।
शैलेशका बुबा दधिराम पनि पेसाले पाइलट नै हुन् । संखुवासभा स्थायी घर भएका उनी रिटायर्ड भइसकेका छन् । शैलेश भने निरन्तर उडान भरिरहेका छन् ।
घर परिवारबाट टाढा बस्दा आफ्नै दुःखजिलो छ । तर, दसैँ, तिहार बिर्सने हो भने बेग्लै रमाइलो पनि छ । जस्तो कि शैलेशले साढे ९ वर्ष इन्डोनिसियाको बसाइलाई भुल्न सकेका छैनन् । फ्रेन्च, स्पेनिश, ग्वाटेमाला, मोरिसस, हुन्डुरस, फिजीका पाइलटहरूसँग उनले काम गर्ने मौका पाए । उनी लगायत ८ जना नेपाली पाइलट त्यहाँ कार्यरत थिए । समुन्द्रको छेउमा एयरपोर्ट, इन्डोनिसियाभरी उड्न पाइने, कुनै–कुनै बेला मलेसियाको पनि फ्लाइट हुन्थ्यो ।
जर्कातामा बस्दा निरन्तर ६ दिन फ्लाइट हुन्थ्यो । हप्तामा एक दिन आराम गर्न पाइन्थ्यो । अरु बेला पनि बिदा पाउन समस्या थिएन । हिन्दु बाहुल्यता भएको बाली घुमफिर गर्न पाउँदा उनलाई अपार आनन्द लाग्थ्यो । त्यहाँ नेपालकै जस्तो मन्दिरहरू भेटिन्थे । राम, शिव भगवानमा आस्था राख्नेहरू प्रशस्त भेटिन्थे । सबैभन्दा पुरानो दिपांकर बुद्धको मूर्ति पनि इन्डोनिसियामै छ, जुन इसाको दोस्रो शताब्दीको मानिन्छ । यस्तै विश्वकै प्रसिद्ध र ठुलो बौद्ध स्तूपा बोरबुदुर पनि इन्डोनिसियामै छ, जुन जाभा टापुमा करिब १ हजार २ सय वर्षभन्दा पुरानो मानिन्छ ।
यी सबै ऐतिहासिक स्थलमा घुम्न पाउँदा क्याप्टेन शैलेशलाई रमाइलो लाग्थ्यो । अस्ट्रेलियाको मेलबर्नबाट इन्डोनेसियाको बालीमा पर्यटकहरू ओइरिन्छन् । सिड्नी भन्दा नजिक र सस्तो पर्ने भएर यता आउने गरेको उनी सुनाउँछन् ।
भारतको डेकेन एयरमा काम गर्दा शैलेश २ वर्ष कलकत्तामा बसे । डेकेन एयर पछि गएर किङ्फिसर एयरलाइन्समा परिणत भयो । भारतको कलकत्तामा उनी २ वर्ष बसे । त्यहाँ बस्दा भने बिदा पाउनै मुस्किल हुन्थ्यो ।ाअअभडद्धबद(ण्अडज्ञ(द्धबभम(डमअढ(बदद्धछदददभअटद्दढ
सन् १९९४ मा अमेरिकाको डेल्टा एरोनोटिकबाट डेढ वर्ष पाइलटको कोर्ष गरेपछि शैलेश नेपाल फर्किए । उनका बुबा दधिराम नेकोन एयरमै काम गर्थे । बुबाले नेपाल बोलाएपछि आउनैपर्यो । उनले नेकोन एयरबाट पाइलटको करिअर सुरु गरे । साढे ३ वर्ष नेकोन एयरमा काम गरेपछि अन्य कम्पनीमा उनका लागि अवसरका ढोकाहरू खुले । जहाज उडाउने क्रममा प्रशस्त घुम्ने मौका यसै पनि मिलिहाल्यो । भारत बस्दा नागाल्याण्ड, गुवाहटी, राँची, पटना र बंगलादेश कैयौँ पटक ओहोरदोहोर गरे । इन्डोनेसिया बस्दा बाली लगायत केही भाग र मलेसियामा उडान भरे ।
पाइलट पेसामा रहँदा शैलेशले अनेक अनुभव बटुलेका छन् । नेपाली पाइलटले देश छाडेर जाँदा उनलाई नमज्जा लाग्छ । ‘अहिले पनि भारतको इन्डिगो एयरलाइन्समा १० जना र एयर इन्डियामा ५ जना नेपाली पाइलट कार्यरत छन्,’ उनले भने, ‘अझै नेपाली कम्पनी छाडेर जाने पाइलटको लाइन नै छ ।’
नेपालभन्दा बाहिर तलब, सेवा, सुविधा बढी हुनाले स्वदेशमा पाइलटहरू बस्नै नमान्ने उनको अनुभव छ ।
त्यसो त शैलेश आफैँ पनि झन्डै १३ वर्ष नेपाल बाहिर नै बसे । विदेशी कम्पनीहरूमा काम गर्दा पैसा त उनले राम्रो कमाए । विदेशी भूमिमा जागिर खाएको धेरै वर्षपछि उनलाई घर, परिवारसँगै हुन पाउँदा रमाइलो लाग्न थाल्यो ।
शैलेशको २४ वर्षिय छोरी सारांशा अहिले अस्टे«लियामा पढ्दैछिन् । अर्की छोरी श्रयाशा १० मा पढ्दैछिन् । धेरै वर्ष बाहिर बस्दा छोरीहरूको जन्मदिन, विवाहको वार्षिकोत्सव उनले मनाउन पाएनन् । रमाइलो र चाडबाडका बेला घरमा सबैजना सँगै हुन नपाउँदा उनलाई खल्लो लाग्थ्यो । अहिले विदेशको आकर्षक रोजगारीभन्दा उनलाई चाडबाडमा सबैजना घरमै हुँदा रमाइलो लाग्छ । आफ्नै बहिनीसँग टीका लगाउन पाउँदा उनमा अझै खुसी थपिनेछ ।







