प्रतिबन्धित लागूऔषधसहित ७ जना पक्राउ

विराटनगर, साउन २९ गते।
सुनसरी र झापामा साउन २८ गते प्रहरीले विशेष सूचनाको आधारमा छापामारी गरी प्रतिबन्धित लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ।

सुनसरीको प्रहरी चौकी खनारबाट खटिएको टोलीले इटहरी उपमहानगरपालिका–११ स्थितबाट सुन्दरहरैचा–७ का २४ वर्षीय सलमान मंसुरी, इटहरी–११ का १८ वर्षीय करण राई, इटहरी–१४ का २२ वर्षीय कोरुजित सरदार र सिरहा निवासी २४ वर्षीय होम मुखियालाई नियन्त्रणमा लिएको हो। उनीहरूबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ट्रामाडोल १,२६० क्याप्सुल र डीकोलिक ५१० क्याप्सुल बरामद गरेको जनाएको छ।

यस्तै, झापाको मेचीपुलस्थित प्रहरी बिटबाट खटिएको टोलीले भद्रपुर नगरपालिका–९ का २१ वर्षीय बिमल विश्वकर्मालाई २ ग्राम १ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कुमरखोदले भारत, बिहार, किसनगंजका १९ वर्षीय मोहम्मद जमिरुललाई प्रतिबन्धित लागूऔषध ४२ ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ।

त्यसैगरी, झापाको कन्काई नगरपालिका–३ का २६ वर्षीय सुभास बर्देवालाई ३ ग्राम ५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।