
सत्यनारायण शर्मा
विराटनगर ।
विराटनगर रानीस्थित जुटमिल भित्र रहेको प्रस्तावित सीमा सुरक्षा बेस क्याम्पका इन्चार्ज डिएसपी विकास खतिवडाले मातहतका प्रहरीलाई सुरक्षाको अनुभूति दिलाउन नसकेको आरोप तीव्र बनेको छ। तस्करी नियन्त्रणमा सक्रिय देखिएका खतिवडाले आन्तरिक सुरक्षा व्यवस्थापनमा कमजोरी देखाएकै कारण शसस्त्र प्रहरी निराश र असुरक्षित भएको गुनासो बढ्दै गएको हो।
डिएसपी खतिवडा घुसखोरी र तस्कर–व्यापारीसँग साटासाटमा नपरेको नामले चिनिन्छन्। उनीविरुद्ध आर्थिक लाभ लिएको कुनै प्रमाण छैन। बरु, नियुक्त भएदेखि नै उनले हरेक महिना २० लाख भन्दा बढी मूल्य बराबरको तस्करी सामान बरामद गरी भन्सारमा बुझाउँदै आएका छन्। यसअघि इन्चार्ज बस्ने अधिकृतहरूले महिनामा ८–९ लाख मात्र सामान समात्ने गरेको पृष्ठभूमिमा खतिवडाको सक्रियता उल्लेखनीय मानिन्छ।
यद्यपि, समस्या अर्कै छ। प्रहरी स्रोतका अनुसार डिएसपी खतिवडाले मातहतका प्रहरीलाई इमानदारीपूर्वक काम गर्न ‘तुलसी र तामाको कसम’ खुवाएर ड्युटी पठाउने गरेका छन्। तर, जब ड्युटीमा रहेका शसस्त्र प्रहरीमाथि तस्करले आक्रमण गर्छन्, त्यसबेला उनी नेतृत्वकर्ताको जिम्मेवारी पुरा गर्न अगाडि नआएको गुनासो बढ्दो छ।
गत ६ महिनामा मात्र रानी भन्सार यात्रु शाखा अगाडि तस्करहरूले पटक–पटक शसस्त्र प्रहरीलाई कुटपिट, गालीगलौज र त्रास देखाउने गरेका छन्। प्रहरी आक्रमणमा परेका बेला इन्चार्जलाई फोन गरेर बोलाउँदा पनि डिएसपी खतिवडा घटना स्थलमा नपुगेको आरोप प्रहरी स्वयंले लगाएका छन्।
तस्करीमा प्रहरीकै मिलेमतो ?
तस्करी नियन्त्रणका लागि संवेदनशील मानिएको ‘एक नम्बर ढाट’मा खुलेआम सामान ओसारपसार भइरहेको पत्रकार र स्थानीयवासीको गुनासो छ। प्रहरीकै मिलेमतोमा ढाटमार्फत लाखौँ मूल्य बराबरका सामग्री नेपाल भित्रिने र भारततर्फ पठिने गरेको तथ्य सार्वजनिक भइसकेको छ।
पहिला यात्रुलाई जोगबनीतर्फ जान वायाँ पेटीमार्फत मात्र हिँड्नुपर्ने नियम थियो। तर अहिले बीच सडकबाटै यात्रु र तस्करलाई आवतजावत गर्न दिइएको छ। यसले भिडभाडको आडमा तस्करी सजिलो बनाएको छ। त्यसैगरी, जोगबनी जाने यात्रुहरू दक्षिन सडक प्रयोग गर्दा तस्करी गर्ने समूहले पोकापोकी सामान सजिलै लैजान थाले पनि प्रहरीले वास्ता नगरेको पत्रकारहरूको टिप्पणी छ।
धुनीया वस्तीमा प्रहरी मौन
धुनीया वस्ती तस्करीको प्रमुख केन्द्र मानिन्छ। यहाँ दिनहुँ लाखौँ मूल्य बराबरका वस्तु जम्मा गरेर गोदाममा राखिन्छन्। तर, डिएसपी खतिवडाले अहिलेसम्म त्यस्ता गोदाममा छापा मार्न नसकेको आफ्नै मातहत प्रहरीहरूको गुनासो छ।
“हामीले ज्यान जोखिममा राखेर तस्करीको सामान समाउँछौं, तर जब तस्करले हामीलाई नै कुट्छन्, हाकीम मौन रहन्छन्,” एक शसस्त्र प्रहरीले गुनासो गरेका छन्।
खतिवडाको दोधार
डिएसपी खतिवडा व्यक्तिगत रूपमा आर्थिक प्रलोभनमा नपरे पनि भिडन्तको मोडमा जान नचाहेको स्रोत बताउँछ। भिडन्त बढेमा माथिल्लो अधिकारी एसपी वा डीआईजीले नै कारबाहीमा तान्ने सम्भावना भएकाले उनले ‘सुरक्षित दूरी’ कायम गरेको प्रहरी कार्यालयकै कर्मचारीहरूको बुझाइ छ।
विराटनगर रानी भन्सार क्षेत्रमा तस्करी नियन्त्रणमा डिएसपी खतिवडा इमानदार छन् भन्ने धारणा बलियो छ। तर, मातहतका प्रहरीलाई सुरक्षा दिन नसक्नु, तस्करको हातपात हुँदा मौन बस्नु, संवेदनशील वस्ती र गोदामतर्फ पहल नगर्नुजस्ता कमजोरीले उनको नेतृत्वमा प्रश्न उठाएको छ।
सुरक्षा प्रमुखको पहिलो दायित्व मातहतलाई साथ दिने र कानुनी शासन कार्यान्वयन गर्ने हो। तर, रानी भन्सार क्षेत्रमा प्रहरीकै असुरक्षा बढिरहेको र तस्करको दादागिरी मौलाइरहेको हकीकतले सुरक्षा निकायको कार्यक्षमता माथि गम्भीर प्रश्न खडा गरेको छ।