विराटनगर बाल सुधारगृहबाट सामूहिक फरार, ६० भन्दा बढी पुनः नियन्त्रणमा

विराटनगर, २५ भदौ ।
विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहमा रहेका बाल बिज्याइँकर्ताहरू एकैपटक फरार भएका छन् । आज विहान भएको घटनामा कूल २ सय ५५ मध्ये करिब २ सय जना फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार, बाल बिज्याइँकर्ताहरूले गृहको मुख्य ढोका फुटाउँदै सुरक्षामा खटिएका प्रहरीलाई नियन्त्रणमा लछार्दै भागेका थिए । घटनाक्रममा सुरक्षार्थ खटिएका २० भन्दा बढी प्रहरी प्रभावित भएका छन् ।

घटनापछि तत्काल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । स्थानीय बासिन्दाको सहयोगमा समेत फरार बाल बिज्याइँकर्ताहरूलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ । हालसम्म करिब ६० जनालाई फेला पारी सुधारगृहमा पुनः राखिएको प्रहरीले जनाएको छ ।

स्थानीयले नियन्त्रणमा लिएकाहरूलाई सुरक्षाकर्मीको जिम्मा लगाइरहेका छन् भने अझै धेरै फरारको खोजी तीव्र पारिएको मोरङ प्रहरीले जनाएको छ ।