मोरङ ग्रामथानको जुवा खालमा प्रहरीको छापा, ५ जना पक्राउ

सुराकी न्यूज डटकम
विराटनगर । मोरङको ग्रामथानमा सञ्चालित जुवा खालमा प्रहरीले बुधबार राति छापा हानेको छ । ग्रामथान गाउँपालिका–३ सिद्राहा बाँसबारी चोकमा जुवा खेलाइरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरीले छापा हानेर ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमध्ये ४ जना विराटनगरका छन् । जुवा खालमा जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सरोज खनाल र इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको संयुक्त टोलीले राति ११–४५ बजेतिर छापा हानेको हो ।

 

छापा हान्ने क्रममा प्रहरीलाई अवरोध गर्ने प्रयाससमेत भएको थियो । जुवा खालबाट विराटनगर महानगरपालिका–३ का ६७ वर्षीय अरुण गुप्ता, विराटनगर–१ का ५८ वर्षीय विनोद कार्की, ६८ वर्षीय दिनेश कार्की र ४३ वर्षीय विवेक सिंह तथा पर्साको वीरगन्ज महानगरपालिका–१६ का ४५ वर्षीय प्रदीपकुमार जैसवाल पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइएको छ । पक्राउ परेकाको साथबाट १५ थान कौडा र ४८ हजार ५ सय ४० रूपैयाँ नगद तथा मोबाइलहरु बरामद भएको जानकारी प्रहरीले दिएको छ ।

पक्राउ परेकाले प्रयोग गरेको बा ०१–०२६ च ६८५३ नम्बरको कारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार चाडपर्वका समयमा जुवाजन्य खेलहरु अत्यधिक हुने गरेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको छ ।