लेटाङकी १३ वर्षीया बालिका मृत फेला, बलात्कारपछि हत्या भएको आशंका

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि बेपत्ता भएकी १३ वर्षीया बालिका मृत फेला परेकी छिन्। शवको अवस्था अत्यन्तै विभत्स रहेको र बलात्कारपछि हत्या गरिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

लेटाङ नगरपालिका–२ स्कुलचोककी अंशु गौतम असोज २१ गतेदेखि हराएकी थिइन्। लगातार खोजी भइरहे पनि कुनै सुराक नपाइएपछि शुक्रबार बेलुकी स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार शव बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रभित्र भेटिएको हो, जुन लेटाङ र बेलबारीको सिमानामा पर्छ। उनले भने, “शवको अवस्था हेर्दा धारिलो हतियार प्रयोग गरिएको हुनसक्छ। बलात्कारपछि हत्या गरिएको वा जंगली जनावरको आक्रमण हो भन्ने दुवै कोणबाट अनुसन्धान भइरहेको छ।”

प्रहरीका अनुसार शव फेला परेको ठाउँ नजिकै बालिकाले लगाएको ट्राउजर र हाफ पाइन्ट छुट्टै अवस्थामा भेटिएको थियो। यसले यौनजन्य अपराधको संकेत गरेको प्रहरीको अनुमान छ। शवको टाउको र शरीर छुट्टिएको अवस्थामा फेला परेको र लामो समयअघि मृत्यु भएकोले शव विग्रिएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार अंशु लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा पाँचमा अध्ययनरत थिइन्। उनको मृत्युको खबरसँगै सिंगो गाउँ शोक र त्रासमा डुबेको छ।

वडा नं. २ का अध्यक्ष तेजप्रसाद तिम्सिनाले भने, “शवको अवस्था हेर्दा हत्या स्पष्ट देखिन्छ। अपराधीलाई तुरुन्त पक्राउ गरी कडा कारबाही हुनुपर्छ।”

प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर प्रमाण संकलन गरिरहेको छ भने वरपरका बासिन्दामाथि पनि सोधपुछ गरिएको छ। शवलाई कानुनी प्रक्रिया पूरा गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। पोस्टमार्टम रिपोर्टपछि मृत्युको वास्तविक कारण पत्ता लाग्ने प्रहरीको भनाइ छ।