विराटनगर । मोरङ प्रहरीले आफ्नो एउटा गौरवमय उपलब्धि थपेको छ। जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) नन्दलाल चौधरीले सोलुखुम्बुको प्रतिष्ठित मेरापिक हिमाल (६,४७६ मिटर) सफलतापूर्वक आरोहण गरेका छन्।
चौधरी हाल इलाका प्रहरी कार्यालय रानीमा कार्यरत छन्। उनले प्रहरी प्रधान कार्यालयको स्वीकृतिसहित असोज २० गतेदेखि सुरु भएको अभियान अन्तर्गत हिमाल आरोहण यात्रा गरेका थिए।
कार्तिक ५ गते राति २ बजेबाट आरोहण सुरु गरेका चौधरीले बिहान ६ः३० बजे शिखर स्पर्श गरेका थिए। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार चौधरी साढे चार घण्टामा आरोहण पूरा गरी बिहान ९ः१५ बजे सम्पर्कमा आएका थिए।
हिमालको चुचुरोमा पुगेपछि चौधरीले नेपाल र नेपाल प्रहरीको झण्डा फहराएर राष्ट्रिय गौरव प्रदर्शन गरेका थिए। आरोहणपछि उनी सकुशल आधार शिविर फर्किएका छन्।
‘शेर्पा साथीहरूको साथ र सहयोगले यात्रा सहज भयो। हिमालमा कुनै ठूलो कठिनाइको सामना गर्नुपरेन,’ चौधरीले भने, ‘यो मेरो जीवनकै गर्विलो क्षण हो।’
एसपी कटवालका अनुसार चौधरीको यो सफलता व्यक्तिगत मात्र नभई नेपाल प्रहरी संगठनकै साहस, समर्पण र अनुशासनको उदाहरण हो। उनले भने, ‘मेरापिक आरोहण शारीरिक क्षमता र मानसिक दृढताको प्रतीक हो। यसले देखाएको छ कि संयम र प्रयासले असम्भव पनि सम्भव बनाउन सकिन्छ।’
आगामी दिनमा चौधरीले संखुवासभास्थित विश्वकै पाँचौं अग्लो मकालु हिमाल (८,४६३ मिटर) आरोहण गर्ने तयारी समेत गरिरहेका छन्।
मेरापिक आरोहणसँगै चौधरीको नाम नेपाल प्रहरीका साहसी आरोहीहरूको सूचीमा जोडिएको छ, जसले सुरक्षा सेवामात्र नभई देशको गौरव बढाउने अभियानमा पनि योगदान पुर्याएका छन्।