विराटनगर ।
छ वर्षदेखि अधुरो बनेको हुलाकी राजमार्गको कटहरी खण्ड पुनः विवादमा आएको छ । निर्माणमा चरम ढिलाइ भएपछि आक्रोशित स्थानीयवासीले बिहीबार बिहान विराटनगर–रंगेली सडक खण्ड ठप्प पारेर आन्दोलन गरेका छन् ।
मोरङको कटहरी गाउँपालिका–४ अन्तर्गत सिंघीया खोलादेखि नयाँबजारसम्मको करिब ६ किलोमिटर सडक अत्तोट्ठाममा परेपछि आन्दोलन चर्किएको हो । धुलो–हिलोले त्रस्त जनजीवन र वर्षौँदेखिको प्रतीक्षापछि स्थानीय युवाहरू सडकमा उत्रिएका हुन् ।
आन्दोलनकारीहरूले निर्माण कार्यमा लापरबाही गर्ने ठेकेदार कम्पनीको सम्झौता तत्काल रद्द गर्न र नयाँ कम्पनीमार्फत काम अघि बढाउन माग गरेका छन् । “सरकारी निकाय मौन र ठेकेदार बेपर्वाह हुँदा जनताले दुःख भोगिरहेका छन्,” स्थानीय युवा नेता रवि मण्डलले भने, “अब हाम्रो माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ ।”
२०७६ सालमा गजुरमुखी–श्रेष्ठ जेभी लाई तीन अर्ब ६० करोड रुपैयाँमा हुलाकी राजमार्गको रतुवा खोलादेखि केशलिया खोलासम्मको ४४ किलोमिटर सडक निर्माणको जिम्मा दिइएको थियो । तर, कटहरी खण्डको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सनले ७६ करोड रुपैयाँको सम्झौता पाएर पनि काम सुरु नगरेको स्थानीयको आरोप छ ।
सिंघीया खोलादेखि जुडीखोला सम्मको खण्ड २०७९ कार्तिकसम्ममा सम्पन्न हुनुपर्ने भए पनि अहिलेसम्म २७ प्रतिशत मात्रै काम भएको हुलाकी सडक आयोजनाको तथ्याङ्कले देखाउँछ ।
अधूरो सडकका कारण स्थानीय बस्तीमा धुलोको प्रदूषण, सवारी साधन गुड्न नसक्ने अवस्था र दुर्घटनाको जोखिम बढेको छ । उद्योग क्षेत्रका प्रतिनिधिहरूले समेत उक्त सडकको ढिलाइले ढुवानी र आपूर्ति प्रणालीमा समस्या ल्याएको बताएका छन् ।
यसअघि पनि स्थानीयले पटक–पटक जिल्ला प्रशासन कार्यालय र आयोजनालाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएपछि यसपटक सडकमा उत्रिन बाध्य भएको जनाएका छन् ।