विराटनगर । मोरङ प्रहरीले लागुऔषध कारोबारमा प्रयोग भएको सिरहा रेडक्रसको एम्बुलेन्ससहित ५ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले विभिन्न स्थानमा छापा मार्दा ३३ किलो भन्दा बढी गाँजा र ब्राउनसुगर बरामद गरेको हो ।
जहदा गाउँपालिका–३ मा बुधबार राति रोकिएको स १ च ६५६ नम्बरको सिरहा रेडक्रस सुखीपुर–१० दहीपौडी उपशाखा अन्तर्गतको एम्बुलेन्स चेकजाँच गर्दा झोलामा लुकाइ राखिएको ३३ किलो ६१० ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न विराटनगर–५ का ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी र जहदा–३ का ३२ वर्षीय दिलीपकुमार राजवंशीलाई नियन्त्रणमा लिइएको हो ।
एम्बुलेन्सको दुरुपयोगप्रति स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । बिरामी ओसारपसारका लागि कर छुट पाएका यस्ता सवारीसाधनहरू ठेक्का प्रणालीमार्फत सञ्चालन हुने भएकाले नियन्त्रण कमजोर रहेको प्रहरी स्रोतले जनाएको छ । विगतमा पनि लागुऔषधसहित एम्बुलेन्स पक्राउ पर्ने घटनाहरू दोहोरिँदै आएका छन् ।
यस्तै, विराटनगर–५ बाट सुनसरी देवानगञ्ज–२ का विकासकुमार यादव र भारत विहारका कृष्णकुमार मेहतालाई ५३ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको छ । उनीहरू बीआर ५० एडी ०२२७ नम्बरको स्कुटरमा सवार थिए ।
त्यसैगरी, पथरीशनिश्चरे–९ का २३ वर्षीय कबिन कार्की पनि ९३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । सबै अभियुक्तलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार पछिल्ला दिनमा मोरङ र आसपासका सीमावर्ती क्षेत्रमा एम्बुलेन्स, स्कुटर र सार्वजनिक सवारीसाधन प्रयोग गरी लागुऔषध ओसारपसारका घटना बढेका छन्, जसमा संघ–संस्था र निजी चालकको मिलेमतो रहेको आशंका गरिएको छ ।