कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण, कठिन परिस्थिति तथा चुनौतीहरू सहज रूपमा सामना गर्न निर्देशन

विराटनगर, मंसिर २४ गते।

कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण गर्नुभएको छ। मंसिर २४ गते सम्पन्न उक्त निरीक्षण भ्रमणका क्रममा उहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरूको अवलोकन गर्नुका साथै जिल्ला प्रहरी कार्यालय अन्तर्गतका प्रहरी इकाइहरूबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई आवश्यक निर्देशन दिनुभएको हो।

निर्देशनका क्रममा उहाँले जस्तोसुकै कठिन परिस्थिति र चुनौतीहरूलाई समेत सहज रूपमा सामना गर्दै कुनै दबाब, प्रभाव तथा प्रलोभनमा नपरी, व्यक्तिगत हितभन्दा माथि उठेर संगठनको गरिमालाई उच्च राखी नागरिक–मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनुभयो।

उहाँले प्रहरीको दैनिक काम–कारबाहीलाई चुस्त-दुरुस्त बनाई शान्ति–सुरक्षालाई प्रभावकारी बनाउने, खुला सिमानाको कारण हुने विभिन्न आपराधिक गतिविधि, चोरी–तस्करी तथा लागुऔषध ओसार–पसारका घटनालाई नियन्त्रण गर्न कडाइका साथ चेकजाँचको व्यवस्था मिलाउने निर्देशन समेत दिनुभयो। साथै, कार्यालयमा आउने सेवाग्राहीहरूको पीरमर्कालाई प्राथमिकतामा राखी प्रविधि–मैत्री सेवा प्रदान गर्न पनि जोर दिनुभयो।

त्यस्तै, भित्री ग्रामिण बस्तीमा बसोबास गर्ने नागरिकहरूको समस्या तथा पीरमर्काको सुनुवाइ गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’लाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभयो। साथै, आउने निर्वाचनलाई सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारीअनुसार त्रुटिरहित रूपमा कार्य गर्न उहाँले प्रहरीलाई निर्देशित गर्नुभयो।

निरीक्षण भ्रमणका क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक केशव कुमार थेवेले जिल्लाको शान्ति–सुरक्षाको अवस्थाबारे प्रदेश प्रहरी प्रमुखलाई अवगत गराउनु भयो। कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया समेतको उपस्थिति रहेको थियो।