विराटनगर, मोरङ –
जेनजी आन्दोलनको क्रममा मिति २०८२ भदौ २४ गते नख्खु कारागार, काठमाडौँबाट फरार भएका कैदी निपुन गुप्ता मोरङमा पक्राउ परेका छन्। अपहरण तथा शरीर बन्दकसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका गुप्ता फरार सूचीमा रहेका व्यक्तिमध्ये एक थिए।
विशेष सूचनाको आधारमा मोरङ प्रहरीले निरीक्षण र निगरानी बढाउँदै जाँदा विराटनगर महानगरपालिका–७ मा उनी लुकिछिपि बसिरहेको पहिचान गरिएको थियो। त्यसपछि मिति २०८२ मंसिर २२ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोलीले गुप्तालाई पक्राउ गर्न सफल भएको जनाएको छ।
पक्राउ परेका गुप्तालाई आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइयो र पत्रसहित मोरङ कारागारमा पुनः चलान गरिएको प्रहरीले जानकारी दिएको छ।