२७औँ पोखरा सडक महोत्सव २०८२ पौष १३ देखि १७ गतेसम्म

लेकसाइडमा पाँच दिनसम्म खाना, संस्कृति र सङ्गीतको महाउत्सव

पोखरा ।
नेपालको पर्यटकीय राजधानी पोखराको मुटु लेकसाइडमा विगत २६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको पोखरा सडक महोत्सव यस वर्ष २७औँ संस्करणमा प्रवेश गरेको छ। टुरिजम एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा आगामी २०८२ साल पौष १३ गतेदेखि १७ गतेसम्म अंग्रेजी नयाँ वर्षको अवसर पारेर फेवातालको किनारस्थित लेकसाइड क्षेत्रमा करिब साढे तीन किलोमिटर क्षेत्रफलमा महोत्सव सञ्चालन हुन लागेको हो।

“सडकमै रमाऔँ” भन्ने मूल नाराका साथ आयोजना हुने यस महोत्सवले खाना, संस्कृति र सङ्गीतको प्रवर्द्धन गर्दै आएको छ। पोखराको पर्यटन प्रवर्द्धनमा मात्र नभई समग्र नेपालको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको पोखरा सडक महोत्सव आज पोखराको पहिचान, ब्रान्ड र गौरवमय इतिहासको अभिन्न हिस्सा बनिसकेको छ।

ऐतिहासिक महत्व

कुनै समय अंग्रेजी नयाँ वर्ष मनाउन नेपालीहरू भारतको गोवा वा थाइल्याण्ड जाने चलन थियो। तर पोखरा सडक महोत्सवले त्यो परम्परा तोड्दै पोखरालाई अंग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सफल भएको छ। दुई दशकभन्दा लामो यात्रामा राजनीतिक अस्थिरता, २०७२ सालको विनाशकारी भूकम्प, कोभिड–१९ महामारी तथा पछिल्ला विभिन्न सामाजिक आन्दोलनजस्ता चुनौतीका बाबजुद पनि महोत्सव निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ।
हरेक संकटपछि सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न र “पोखरा सुरक्षित र खुला छ” भन्ने सन्देश विश्वसमक्ष पुर्‍याउन यस महोत्सवले महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।

पर्यटन प्रवर्द्धन र आर्थिक योगदान

पोखरा आफैँमा प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको खुला संग्रहालयजस्तै शहर हो। सडक महोत्सवले विशेषतः जाडो याममा सुस्ताउने पर्यटन व्यवसायलाई चलायमान बनाउँदै पोखरालाई वर्षैभरि आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्दै आएको छ।
महोत्सवले पोखरा तथा आसपासका गाउँहरूमा उत्पादन हुने कृषि उपज, हस्तकला तथा घरेलु सामग्रीको प्रदर्शन र बिक्रीको अवसर प्रदान गर्दै स्थानीय तथा ग्रामीण अर्थतन्त्रलाई समेत गतिशील बनाएको छ। क्रिसमस र नयाँ वर्षमा विदेशी पर्यटकहरूलाई नेपालमै रमाउने वातावरण सिर्जना गरी विदेशी मुद्रा आर्जनमा पनि प्रत्यक्ष योगदान पुर्‍याउँदै आएको छ।

पोखरा भ्रमण वर्ष २०२५ सँग सहकार्य

पोखरा महानगरपालिकाद्वारा घोषणा गरिएको पोखरा भ्रमण वर्ष २०२५ लाई लक्षित गर्दै विभिन्न प्रचार–प्रसार तथा अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। सो अवसरमा पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी भट्टराईको उपस्थितिलाई पर्यटन विकासप्रतिको संस्थागत प्रतिबद्धताको प्रतीकका रूपमा लिइएको छ।
पोखराको प्रकृति, संस्कृति, साहसिक पर्यटन र आतिथ्य अनुभवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकसमक्ष चिनाउन महोत्सव महत्वपूर्ण माध्यम बन्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

महोत्सवका प्रमुख आकर्षण

  • सांस्कृतिक विविधता: नेपालका विभिन्न जातजातिका परम्परागत तथा लोपोन्मुख सांस्कृतिक प्रस्तुति

  • खानाको उत्सव: “सडकमै साथी” भन्ने नाराअनुसार स्वदेशी तथा अन्तर्राष्ट्रिय परिकारको प्रत्यक्ष स्वाद

  • मनोरञ्जन: चर्चित राष्ट्रिय कलाकारहरूको लाइभ कन्सर्ट तथा लोक दोहोरी प्रस्तुति

  • साहसिक तथा खेलकुद गतिविधि: फेवातालमा डुंगा दौड, तैराकी, रस्साकस्सी लगायतका प्रतियोगिता

  • शैक्षिक तथा प्रवर्द्धनात्मक कार्यक्रम: पर्यटनसम्बन्धी टक शो, वृत्तचित्र प्रदर्शन र फोटो प्रदर्शनी

सहकार्य र प्रायोजन

महोत्सवका मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रा.लि. रहेको छ।
सह–प्रायोजकहरूमा बोटलर्स नेपाल (तराई), यती डिस्टिलरी, नेपाल डिस्टिलरी, नेपाल टेलिकमलगायत रहेका छन्।
बैंकिङ पार्टनर सिद्धार्थ बैंक लिमिटेड रहेको छ।
कार्यक्रममा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद्को सहकार्य रहेको छ।

रेवान पोखराले पोखरा, विराटनगर, इटहरी, जनकपुर र चितवनलगायत शहरमा निमन्त्रणात्मक कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ। महोत्सवको उद्देश्य, सन्देश र आकर्षणलाई सञ्चार माध्यममार्फत व्यापक रूपमा प्रसारण गरिदिन आयोजकले आग्रह गरेका छन्।

अन्त्यमा, महोत्सवको निमन्त्रणालाई स्वीकार गरी उपस्थित सबै पत्रकार, सञ्चारकर्मी, पर्यटन व्यवसायी तथा सरोकारवालाप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।