सत्यनरायण शर्मा
विराटनगर, पौष १ गते । विराटनगर महानगरपालिकाले विगत २० वर्षदेखि वडा नं. ६ मा महानगरको सबै वडाबाट संकलन गरिएको फोहर फाल्दै आएको थियो । उक्त फोहरका कारण वडा नं. ६, वडा नं. ११, वडा नं. १२ तथा सुनसरी जिल्लाका बर्जु गाउँपालिका, देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित हुँदै आएका थिए । हुलाकी राजमार्ग अन्तर्गत केशलिया रोड दैनिक रूपमा प्रयोग गर्नुपर्ने भएकाले सर्वसाधारणलाई थप समस्या हुँदै आएको थियो ।
विशेष गरी बह्रम्पुरा बस्तीका बासिन्दा सबैभन्दा बढी प्रभावित भएका थिए । फोहर फाल्ने स्थान र बस्तीबीचको दूरी करिब ३०० मिटर मात्र भएकाले दुर्गन्ध, स्वास्थ्य जोखिम र वातावरणीय प्रदूषणले स्थानीयलाई दीर्घकालीन असर पारेको थियो ।
उक्त स्थानमा फोहर व्यवस्थापन ठेकदारले विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट संकलन गरिएको सडकको फोहर, नालाको फोहर, घरायसी फोहर तथा अस्पताल, क्लिनिक र नर्सिङ होमबाट निस्किने फोहरसमेत फाल्ने गरेको स्थानीयले बताएका छन् । यसका कारण कुकुर, बिरालो, कागजस्ता जनावर फोहरमा खाने र पछि बस्तीमा पस्ने, खानेकुरा छुने तथा थाल–भाँडामा चाट्ने गरेकाले रोग फैलिने जोखिम बढेको थियो ।
स्थानीय बासिन्दाहरूले दिनेश कामतको नेतृत्वमा समिति गठन गरी लामो समयदेखि “फोहर हाम्रो बस्तीमा नफाल” भन्ने माग गर्दै महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा पटक–पटक ज्ञापनपत्र तथा डेलिगेशन बुझाउँदै आएका थिए । पटक–पटक आश्वासन दिइए पनि समस्या समाधान नहुँदा स्थानीय निराश थिए ।
तर लामो संघर्षपछि बह्रम्पुरावासीको अनुहारमा खुसी छाएको छ । आज स्थानीयले ठूलो मुद्दा जितेझैँ महसुस गरेका छन् । अब बह्रम्पुरा बस्ती स्वस्थ र सफा बस्तीमा रूपान्तरण हुने विश्वास स्थानीयको छ ।
पौष १ गतेदेखि विराटनगर महानगरपालिकाले आफ्नो फोहर वडा नं. १६ स्थित दरहैया, केशलिया खोलाको छेउमा खरिद गरिएको करिब १० बिघा जग्गामा घेराबार गरी व्यवस्थापन गर्न सुरु गरेको छ ।