विराटनगर, मोरङ — जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषध ओसार–पसारको नाममा निर्दोष व्यक्तिलाई फसाउने षड्यन्त्रमा संलग्न चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मिति २०८२ मंसिर २७ गते गोप्य सूचनाका आधारमा धनपालथान गाउँपालिका–४ मा चेकजाँच गर्ने क्रममा प्रदेश १–०४–००२ प ६४७१ नम्बरको मोटरसाइकलको दायाँपट्टिको इन्डिकेटरभित्र लुकाइछिपाइ राखिएको १३.३१० ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो। उक्त मोटरसाइकलका धनी धनपालथान–२ का २९ वर्षीय राजीव चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको थियो। तर प्रारम्भिक सोधपुछ र व्यवहारका आधारमा उनी निर्दोष जस्तो देखिएपछि प्रहरीले घटनालाई गहिरो रूपमा अनुसन्धान गरेको थियो।
अनुसन्धानकै क्रममा यस्तै प्रकृतिको घटना यसअघि मिति २०८२ वैशाख २० गते पनि धनपालथान–२ का ४५ वर्षीय चन्द्रशेखर मण्डलको को ६ प १६२६ नम्बरको मोटरसाइकलमा भएको खुलेको छ। सो घटनामा फेला परेको पदार्थ परीक्षण गर्दा ल्याब रिपोर्ट नेगेटिभ आएपछि चन्द्रशेखर मण्डलले सफाइ पाएका थिए। चन्द्रशेखर मण्डल र राजीव चौधरी नाताले ससुरा–ज्वाइँ पर्ने पनि खुलेको छ।
दुईवटै घटनाको ढाँचा मिल्दोजुल्दो देखिएपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो। प्रहरी अनुसन्धान अनुसार धनपालथान–७ का २२ वर्षीय विशाल कुमार सिंहले व्यक्तिगत रिसइवीका कारण विराटनगर महानगरपालिका–९ का २७ वर्षीय राजा धोवी, धनपालथान–७ का २७ वर्षीय रोशन मण्डल र धनपालथान–१ का २८ वर्षीय पारस मण्डलसँग मिलेर चन्द्रशेखर मण्डल र उनका सहोदर ज्वाइँ राजीव चौधरीलाई लागूऔषध मुद्दामा फसाउने षड्यन्त्र रचेको खुल्न आएको छ।
प्रहरीका अनुसार विशाल कुमार सिंह र चन्द्रशेखर मण्डलको परिवारबीच वैवाहिक विषयलाई लिएर विवाद रहेको र सोही कारण परिवारका सदस्यहरूलाई लागूऔषध मुद्दामा जेल पठाउने नियतले मोटरसाइकलको इन्डिकेटरभित्र लागूऔषध जस्तो देखिने पदार्थ लुकाइ राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। तर प्रहरीको सतर्कता र सूक्ष्म अनुसन्धानका कारण उक्त योजना असफल भएको छ।
घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
पक्राउ पर्नेहरू:
-
विराटनगर महानगरपालिका–९, घोषापुल बस्ने २७ वर्षीय राजा धोवी
-
धनपालथान गाउँपालिका–७ बस्ने २२ वर्षीय विशाल कुमार सिंह
-
धनपालथान गाउँपालिका–७ बस्ने २७ वर्षीय रोशन मण्डल
-
धनपालथान गाउँपालिका–१ बस्ने २८ वर्षीय पारस मण्डल
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक कोपिला चुडालले लागूऔषध सम्बन्धी अपराधसँगै निर्दोष व्यक्तिलाई फसाउने जस्तो गम्भीर षड्यन्त्रलाई पनि कानुनको दायरामा ल्याइने स्पष्ट पार्नुभयो।