विराटनगर, पुस ०६ गते ।
झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित ४ जनालाई नियन्त्रणमा लिएको छ। पुस ०५ गते गरिएको अलग–अलग कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्।
सुनसरीको इलाका प्रहरी कार्यालय इटहरी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त प्रहरी टोलीले इटहरी–६ मा चेकजाँच गर्ने क्रममा प्रदेश १–०२–०४८ प ४४७८ नम्बरको मोटरसाइकलमा सवार कोशी गाउँपालिका–८ का २० वर्षीय मो. जैसुल र बराहक्षेत्र नगरपालिका–५ का ३५ वर्षीय अनिल कार्कीलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट ५५ ग्राम १६ मिलिग्राम ब्राउन सुगर र नगद १ लाख ६५ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, वडा प्रहरी कार्यालय भद्रपुर, झापाले भद्रपुर–५ बाट इलाम नगरपालिका–१२ का अनिल प्रधानलाई २ ग्राम १०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। सोही कार्यालयले झापाको कचनकवल गाउँपालिका–६ का दिलकुमार राजवंशीलाई २ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै, मोरङको इलाका प्रहरी कार्यालय विराट चोकले सुन्दरहरैँचा नगरपालिका–१० का नरेश उराउलाई २ ग्राम ८१ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
उता, इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–६ मा चेकजाँचका क्रममा बेवारिसे अवस्थामा रहेको २० किलोग्राम गाँजा पनि बरामद गरेको जनाएको छ।




