विराटनगर — सीमा क्षेत्रमा सुरक्षा सुदृढीकरण, अवैध गतिविधि नियन्त्रण तथा तस्करी निरुत्साहित गर्न प्रभावकारी भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास खतिवडालाई विराटनगरका सञ्चारकर्मीहरूले सम्मान गरेका छन्।
प्रस्तावित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, रानीमा कार्यरत डीएसपी खतिवडाले सीमावर्ती क्षेत्रमा शान्ति–सुरक्षा मजबुत बनाउन गरेको निरन्तर प्रयासको कदरस्वरूप एक कार्यक्रमबीच सम्मान गरिएको हो।
कार्यक्रमका संयोजक सत्यनारायण शर्माका अनुसार सशस्त्र प्रहरी बल नेपालको उद्देश्यअनुरूप सीमामा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने, विकृति–विसंगति न्यूनीकरण गर्ने तथा आम नागरिकमा सुरक्षा अनुभूति दिलाउने कार्यमा खतिवडाको भूमिका उल्लेखनीय रहँदै आएको छ। उनले आफ्नो पदीय जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै जनविश्वास कायम गर्न सफल भएको बताए।
कार्यक्रममा साझा सरोकार डट कमका सम्पादक रोशन पोखरेलले समाजमा शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षाकर्मीहरूको योगदान अपरिहार्य रहेको उल्लेख गर्दै डीएसपी खतिवडाले निर्वाह गरेको जिम्मेवारी प्रेरणादायी भएको बताए।
त्यसैगरी, समकालीन पथका सम्पादक तथा प्रकाशक मधुसुदन ज्ञवालीले सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणमा खतिवडाले आफ्नो कार्यक्षेत्रमा देखाएको सक्रियता सबै सुरक्षाकर्मीका लागि उदाहरणीय भएको धारणा व्यक्त गरे।
सम्मान ग्रहण गर्दै डीएसपी विकास खतिवडाले संगठनले दिएको जिम्मेवारीलाई अक्षरशः पालना गर्दै आएको उल्लेख गर्दै सञ्चारकर्मीहरूबाट प्राप्त सम्मानले थप जिम्मेवारीबोध र उत्साह थपिएको बताए। सञ्चारकर्मीबाट सम्मानित हुन पाउनु आफैंमा गर्वको विषय भएको उनको भनाइ थियो।




