विराटनगर, पुस ७ गते ।
विराटनगरका दुई होटलमा सञ्चालित क्यासिनोमा अनधिकृत रूपमा प्रवेश गरी जुवा खेलिरहेको अवस्थामा १७ जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–११ स्थित रत्ना होटल र बिग होटल भित्र सञ्चालित क्यासिनोमा नेपाली नागरिकहरू क्यासिनो आइडी नै नलिई जुवा खेल्ने तथा खेलाउने कार्य भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।
मिति २०८२ साल पुस ६ गते राति करिब ११ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ती होटलका क्यासिनोहरूमा चेकजाँच गर्दा नेपाली नागरिकहरू जुवा खेलिरहेको अवस्थामा फेला परेका थिए। पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अनुसार कसुरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रत्ना होटलको ‘गोल्डेन क्वाइन क्यासिनो’बाट पक्राउ पर्नेहरू
रत्ना होटलस्थित गोल्डेन क्वाइन क्यासिनोबाट १४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सोलुखुम्बु, झापा, मोरङ, रामेछाप, सुनसरी, उदयपुरलगायत जिल्लाका २३ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू रहेका छन्।
बिग होटलको ‘च्याम्पियन जोन क्यासिनो’बाट पक्राउ
त्यसैगरी, बिग होटलमा सञ्चालित च्याम्पियन जोन क्यासिनोबाट काभ्रे, बैतडी र मोरङका ३ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार नेपालमा क्यासिनो सञ्चालन तथा खेलमा विदेशी नागरिकलाई मात्र अनुमति रहेको भए पनि नेपाली नागरिकहरू अवैध रूपमा प्रवेश गरी जुवा खेल्ने क्रम बढ्दै गएपछि निगरानी कडा पारिएको हो। यस किसिमका अवैध गतिविधिविरुद्ध नियमित रूपमा कारबाही जारी रहने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।