
विराटनगर, पुस ८ गते ।
मोरङ उद्योग व्यापार संघको आयोजनामा कोशी प्रदेशकै बृहद् अन्तर्राष्ट्रियस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी ‘विराट ट्रेड एक्स्पो–२०२५’ को सम्पूर्ण तयारी सम्पन्न भएको छ । एक्स्पो २०८२ साल पौष १ गतेदेखि १९ गतेसम्म विराटनगर महानगरपालिका–१ स्थित शान्ति चोक क्षेत्रमा सञ्चालन हुनेछ ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार एक्स्पोको औपचारिक उद्घाटन भोली पौष ९ गते दिउँसो २ बजे संघीय सरकारका माननीय अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गर्ने आयोजकले जानकारी दिएको छ ।
यस एक्स्पोले कोशी प्रदेशसहित मुलुकभरका औद्योगिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा लगायत विभिन्न क्षेत्रका उत्पादन तथा सेवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । साथै, नवप्रवर्तन, महिला तथा युवा उद्यमीहरूलाई स्वदेशी तथा विदेशी लगानीकर्तासँग व्यवसायिक सम्बन्ध स्थापना र विस्तार गर्ने अवसर प्रदान गर्ने विश्वास आयोजकको छ ।
कोशी पर्यटन वर्ष–२०८२ लाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको यस एक्स्पोले प्रदेशको कला, संस्कृति र पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमा समेत योगदान पुर्याउने बताइएको छ ।
एक्स्पोमा निर्माण गरिएका ३ वटा ह्याङ्गर र २०० भन्दा बढी स्टलहरू मार्फत कृषिजन्य तथा औद्योगिक उत्पादन, कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत सेवाहरूको प्रदर्शनी हुनेछ । छिमेकी मुलुक भारतसहित बंगलादेश, पाकिस्तान लगायत विभिन्न देशका उत्पादनहरू पनि प्रदर्शनीमा समावेश गरिनेछ ।
११ दिनसम्म सञ्चालन हुने यस एक्स्पोमा लगातार ८ दिन स्टार्टअप, महिला उद्यमशीलता, पर्यटन, एआई, सूचना प्रविधि लगायत विषयमा थिमेटिक सेसन तथा सेमिनारहरू आयोजना गरिनेछन् । यी कार्यक्रमहरूका लागि स्विस कन्ट्याक्ट, आइडिया स्टुडियो जस्ता संस्थाहरूले सहकार्य गरिरहेका छन् ।
कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकाको प्रवर्द्धनमा आयोजना हुन लागेको यस एक्स्पोको मुख्य प्रायोजकका रूपमा रामपम तयारी चाउचाउ र मारुती सिमेन्ट रहेका छन् । त्यस्तै खुकुरी रम, रोन्योरी मसला र ग्रिन टावर्स गोल्ड स्पोन्सर रहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग संगठन मोरङ, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ, विराट व्यापार संघ, मोरङ अटोमोबाइल डिलर्स एसोसिएसनलगायत विभिन्न संघ–संस्थाहरू सहयोगी संस्थाका रूपमा आवद्ध छन् ।
एक्स्पोमा दर्शकहरूको मनोरञ्जनका लागि कुमार सागर, रकहेड्स, इलिमेन्ट्स, कुटुम्ब, स्वप्न सुमन, उज्ज्वल शाक्य लगायतका राष्ट्रिय कलाकार तथा ब्याण्डहरूको दैनिक सांस्कृतिक प्रस्तुति रहनेछ । साथै, जलपरी प्रदर्शनी, ३० फिट अग्लो ओपेरा हाउसको आकृति, स्टार सेल्फी जोन, बाल उद्यान तथा ‘विराट भ्वाइस’ गायन प्रतियोगिता जस्ता विशेष आकर्षणहरू राखिएका छन्, जसको विजेताले रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
अघिल्ला संस्करणभन्दा ठूलो क्षेत्रफलमा आयोजना हुन लागेको यस एक्स्पोमा करिब दुई लाख दर्शक आउने अनुमान गरिएको छ । पार्किङ व्यवस्थापन पनि पर्याप्त गरिएको आयोजकले जनाएको छ ।
मोरङ उद्योग व्यापार संघका संयोजक अमितकुमार शारदाले एक्स्पो सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताए । यस अवसरमा संघका सचिव अनुपम राठी, संघका पूर्व अध्यक्ष नविन रिजाल, उद्योगपति प्रकाश मुन्द्रा, धनश्याम सारडा, नन्दु राठी लगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।