केराबारीमा एम्बुलेन्सभित्र गाँजा तस्करी, दुई जना पक्राउ

मोरङ । मोरङको केराबारी गाउँपालिकामा एम्बुलेन्स प्रयोग गरी लागुऔषध गाँजा तस्करी भइरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाबाट ५२१ केजी गाँजा बरामद गरिएको छ।

घटना मिति २०८२ साल पुस १३ गते राति करिब ११ बजे केराबारी गाउँपालिका वडा नं. ५ स्थित हाफाटोल सडकखण्डमा भएको हो। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारी तथा इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले प्र.१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्स चेकजाँच गर्ने क्रममा उक्त एम्बुलेन्स रोक्न खोज्दा चालकले भाग्ने प्रयास गरेका थिए।

प्रहरीले एम्बुलेन्सलाई रोक्न एक राउण्ड हवाई फायर गर्नुपरेको थियो। त्यसपछि एम्बुलेन्स नियन्त्रणमा लिई जाँच गर्दा भित्र लुकाइछिपाई ल्याइएको लागुऔषध गाँजा ५२१ केजी फेला परेको प्रहरीले जनाएको छ।

उक्त एम्बुलेन्स सूर्यबहादुर थापा प्रतिष्ठान, खाल्सा लिंताङ शहीदभूमि गाउँपालिका–१, धनकुटाबाट सञ्चालनमा रहेको खुलेको छ।

प्रहरीले एम्बुलेन्स चालक धनकुटा शहीदभूमि गाउँपालिका–६ निवासी ३५ वर्षीय निश्‍चल राईधनकुटा सागरुरगढी गाउँपालिका–२ निवासी २० वर्षीय खगेन्द्र लिम्बूलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।