एमालेको समानुपातिक बन्दसूची सार्वजनिक, मोरङबाट नरेश पोखरेल खस आर्य समूहमा अटाए

विराटनगर। नेकपा (एमाले) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूची सार्वजनिक भएसँगै मोरङको राजनीतिक वृत्तमा चासो बढेको छ। ११० सदस्यीय समानुपातिक उम्मेदवारको अन्तिम सूचीमा मोरङका नेता नरेश पोखरेल खस आर्य समूहबाट समावेश भएका छन्।

एमालेले खस आर्य समुदायतर्फबाट ३३ जनाको नाम बन्दसूचीमा राखेको छ, जसमा १६ पुरुष र १७ महिला छन्। यस समूहको सूचीमा पोखरेलसँगै पार्टीका प्रभावशाली र अनुभवी नेताहरूको उल्लेख्य उपस्थिति देखिन्छ। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सचिव पद्मा अर्याल तथा नेता गुरु बराल जस्ता नामहरूले सूचीलाई थप बलियो बनाएको छ।

खस आर्य कोटामा मोरङका पोखरेलसँगै विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरू पनि अटाएका छन्। सूचीमा भोजपुरका पर्शुराम अधिकारी, अछामका बमबहादुर बिसी, कैलालीका हरिशंकर योगी, सुर्खेतका बालाराम शर्मा र कालीकोटका दुर्गा बहादुर शाही लगायतका नाम छन्।

महिलातर्फ पनि एमालेले सन्तुलित उपस्थिति सुनिश्चित गरेको छ। खस आर्य समूहबाट निर्मला पाठक, लक्ष्मी थापा, मेनका काफ्ले, शारदा पराजुली, यशोदा कुमारी बराल, लीला भण्डारी, अंशुमैयाँ खड्का, नारायणी खनाल, प्रभा बराल र बझाङकी भागीरथी सिंह सूचीमा समावेश छन्।

एमालेले समानुपातिक सूची तयार गर्दा संविधानले निर्दिष्ट गरेको समावेशी सिद्धान्तलाई आधार मानेको जनाएको छ। खस आर्यसँगै आदिवासी जनजाति, मधेसी, दलित, थारु र मुस्लिम समुदायको प्रतिनिधित्व हुने गरी पार्टीले ११० जनाको पूर्ण बन्दसूची निर्वाचन आयोगमा बुझाएको हो।

यससँगै मोरङबाट नरेश पोखरेलको समावेशले जिल्लाको राजनीतिक प्रतिनिधित्व थप सुदृढ हुने अपेक्षा गरिएको छ।