कोशी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर : नयाँ अनुहारको तयारी, शपथ यही साता

विराटनगर । कोशी प्रदेश सरकारमा बहुप्रतिक्षित मन्त्रिपरिषद् पुनर्गठन अन्ततः निर्णायक चरणमा पुगेको छ। सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भागबन्डा मिलेसँगै यही साताभित्र नयाँ मन्त्रीहरूले शपथ लिने तयारी भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।

प्रदेश सरकारको कार्यसम्पादनलाई गति दिन र राजनीतिक सन्तुलन मिलाउन पुनर्गठन गर्न लागिएको बताइएको छ। नेपाली कांग्रेसका सांसद भीम पराजुलीले पनि सरकार पुनर्गठन अब औपचारिक घोषणाको चरणमा पुगेको संकेत गरेका छन्।

एमालेमा आकांक्षी धेरै, अवसर चार जनालाई

नेकपा (एमाले) भित्र मन्त्री बन्ने होड तीव्र देखिएको छ। एमालेबाट ६ जना सांसद मन्त्रीको दौडमा रहे पनि चार जनालाई मात्र मन्त्रिपरिषद्मा स्थान मिल्ने निश्चितजस्तै छ।
एमालेको सम्भावित सूचीमा बिदुर लिङ्थेप, चिन्तन पाठक, निरन राई, इन्द्रमणि पराजुली, उमाकान्त गौतम र रामप्रसाद मेहताको नाम चर्चामा छ। अन्तिम छनोट पार्टी नेतृत्वको निर्णयमा निर्भर रहनेछ।

कांग्रेसबाट चार मन्त्री लगभग टुंगो

नेपाली कांग्रेसतर्फ भने मन्त्री बन्ने चार जनाको नाम लगभग निश्चित भइसकेको छ।
डा. शेखर कोइराला समूहबाट मानबहादुर लिम्बू, कृष्णप्रसाद सिटौला समूहबाट भीम पराजुली र संस्थापन समूहबाट इसराइल मन्सुरी तथा प्रदीप सुनुवार मन्त्री बन्ने सम्भावना बलियो रहेको स्रोतले जनाएको छ।

वर्तमान मन्त्रीहरू कुन मन्त्रालयमा ?

हालको मन्त्रिपरिषद् संरचनाअनुसार

  • एमालेबाट

    • राम राना – आर्थिक मामिला

    • पाँचकर्ण राई – सामाजिक विकास

    • रेवतीरमण भण्डारी – आन्तरिक मामिला तथा कानुन

    • एकराज कार्की – खानेपानी, सिँचाइ

  • नेपाली कांग्रेसबाट

    • भूपेन्द्र राई – भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य

    • खगेनसिंह हाङ्गाम – कृषि

    • सदानन्द मण्डल – पर्यटन, वन तथा वातावरण

पुनर्गठनपछि केही मन्त्रीहरू हट्ने र नयाँ अनुहार प्रवेश गर्ने भएकाले प्रदेशको राजनीतिक समीकरण फेरिने अनुमान गरिएको छ।