मोरङमा बालिका सुरक्षा ः राज्य, समाज र परिवारको साझा असफलता

सम्पादकीय
मोरङ जिल्लामा पछिल्लो १५ वर्षमा ५ सयभन्दा बढी बालिका बेपत्ता हुनु सामान्य तथ्यांक होइन, यो गम्भीर सामाजिक संकटको संकेत हो। माइती नेपाल विराटनगरले सार्वजनिक गरेको तथ्यांकले बालिका सुरक्षाको अवस्था कति कमजोर छ भन्ने स्पष्ट देखाउँछ ।

सन् २०१० देखि २०२५ सम्म ६ सय ७१ बालिका बेपत्ता भएको उजुरी दर्ता हुनु र तीमध्ये केवल १ सय ७ जना मात्रै फेला पर्नु राज्यका लागि गम्भीर चेतावनी हो । बालिका बेपत्ता हुनु केवल प्रहरीको मुद्दा होइन, यो समाज, परिवार, राज्य संरचना र सीमा व्यवस्थापन सबैसँग जोडिएको जटिल समस्या हो । सन् २०१६ मा मात्रै ७० बालिका बेपत्ता हुनु र पछिल्ला वर्षमा पुनः दर बढ्दै जानु चिन्ताजनक अवस्था हो । अझ दुःखद पक्ष के छ भने, बेपत्ता भएका अधिकांश बालिकाको अवस्था आजसम्म अज्ञात छ ।

मोरङका सीमा नाकाहरू मानव बेचबिखनका लागि अत्यन्त संवेदनशील बनेका छन् । रानी–जोगबनी नाका मात्र होइन, दरैया, इस्लामपुर, मटेरुवा, बुधनगर, आईसीपी, सिक्टी र कुवाडी जस्ता नाकाहरू अपराधीका लागि सहज मार्ग बन्दै गएका छन् । १५ वर्षमा १ हजार ६ सय ५४ जनाको उद्धार हुनु आफैंमा सीमा निगरानी कति कमजोर छ भन्ने प्रमाण हो । बालिकाहरू विभिन्न प्रलोभनमा पारिने गरेका छन—कामको आश्वासन, प्रेम विवाहको झुटो सपना, सामाजिक सञ्जालको दुरुपयोग, नेटवर्किङ व्यवसाय र पारिवारिक बेमेल । यसले देखाउँछ कि समस्या केवल गरिबी होइन, चेतनाको अभाव, पारिवारिक संवादको कमजोरी र डिजिटल असुरक्षा पनि उत्तिकै जिम्मेवार छन् । राज्यले अझै पनि मानव बेचबिखन नियन्त्रणलाई प्राथमिकतामा राख्न सकेको देखिँदैन ।

कानुन छन्, योजना छन्, तर कार्यान्वयन कमजोर छ । सीमा क्षेत्रमा कडाइ, विद्यालयस्तरमै सचेतना, अभिभावक शिक्षण, सामाजिक सञ्जाल निगरानी र स्थानीय तहको सक्रियता बिना यो समस्या समाधान हुँदैन । माइती नेपालजस्ता संस्थाले गरिरहेको उद्धार र पुनःस्थापनाको काम प्रशंसनीय भए पनि दीर्घकालीन समाधान राज्यको स्पष्ट नीति, समुदायको निगरानी र परिवारको जिम्मेवारीबिना सम्भव छैन । बालिका सुरक्षित छैनन् भने समाज सुरक्षित हुँदैन । अब पनि गम्भीर नहुने हो भने यी तथ्यांक केवल संख्यामा सीमित रहने छैनन्, भविष्यका पीडादायी कथामा रूपान्तरण हुनेछन् ।