तीन वर्षदेखि क्यान्सरसँग संघर्षरत ११ वर्षीय राजवीरलाई जीवन बचाउन सहयोगको खाँचो

उपचार खर्च थेग्न नसक्दा परिवारले गर्‍यो सार्वजनिक अपिल

विराटनगर ।

ब्लड क्यान्सरको गम्भीर रोगसँग तीन वर्षदेखि संघर्षरत ११ वर्षीय बालक राजवीर ठाकुरको जीवन रक्षा गर्न उनका आफन्तले आर्थिक सहयोगको अपिल गरेका छन् । उपचार खर्च असह्य बन्दै गएपछि परिवारले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी सहयोगका लागि सबैसँग हात फैलाएको हो ।

भारतको पूर्णिया निवासी राजवीर हाल भारतकै क्रिश्चियन मेडिकल कलेजमा उपचाररत छन् । बालककी सानीआमा लक्ष्मी ठाकुरका अनुसार आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले अबको उपचार अघि बढाउन परिवार असमर्थ बनेको छ ।

राजवीरकी आमा राधादेवी ठाकुरको माइत विराटनगर महानगरपालिका–९ घोगापुल चोकमा रहेको छ । राधादेवीको विवाह भारत पूर्णियाका रिङ्कु ठाकुरसँग भएको हो । दुवै पक्षको पारिवारिक आम्दानी न्यून हुँदा लामो समयदेखि चल्दै आएको उपचार खर्चले परिवारलाई गम्भीर आर्थिक संकटमा पारेको छ ।

परिवारका अनुसार हालसम्म उपचारमा १८ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । चिकित्सकले बोनम्यारो ट्रान्सप्लान्ट अनिवार्य रहेको बताएपछि थप १६ लाख भारतीय रुपैयाँ आवश्यक पर्ने अवस्था आएको छ ।

“छोरालाई बचाउन चाहन्छौँ, तर अब आर्थिक क्षमता सकिएको छ,” भन्दै लक्ष्मी ठाकुरले सहयोगका लागि आमनागरिक, संघ–संस्था र मनकारी व्यक्तिहरूसँग आग्रह गरिन् ।

राजवीरको उपचारका लागि उनकी आमा राधादेवी ठाकुरको नाममा रहेको सिद्धार्थ बैंक, विराटनगर शाखाको खाता नम्बर ००७२०८०९२०० मार्फत आर्थिक सहयोग गर्न सकिने परिवारले जनाएको छ ।

सानो सहयोगले पनि एउटा बालकको जीवन जोगिन सक्ने भन्दै परिवारले सबैमा मानवीय सहयोगको अपिल गरेको छ ।