विराटनगरबाट मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ, १६ वर्षीया बालिकाको उद्धार

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–११ स्थित एक गीतगजलबाट मानव बेचबिखन तथा शारीरिक यातनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पीडित १६ वर्षीया बालिकाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार झापा जिल्लाको कनकाई नगरपालिका–१ स्थायी घर भएकी ती बालिका पछिल्लो पाँच महिनादेखि उक्त गीतगजलमा काम गर्दै आएकी थिइन्। गीतगजलका सञ्चालक र त्यहाँ काम गर्ने एक व्यक्तिले मिलेर बालिकामाथि शारीरिक तथा मानसिक यातना दिएको सूचना प्राप्त भएपछि प्रहरीले तत्काल कारबाही अघि बढाएको हो।

सूचनाको आधारमा खटिएको प्रहरी टोलीले घटनास्थलबाट पीडित बालिकाको उद्धार गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको थियो। पीडितले दिएको लिखित जाहेरीका आधारमा मिति २०८२ साल ९ महिना २१ गते घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१२ का ३३ वर्षीय पर्शुराम कामत, जो उक्त गीतगजलका सञ्चालक हुन्, तथा विराटनगर महानगरपालिका–८ का २६ वर्षीय मनिष ठाकुर, जो सोही गीतगजलमा काम गर्दै आएका थिए।

उनीहरूलाई मानव बेचबिखन तथा शरीर बन्धक सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुडाल  जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले यस्ता आपराधिक क्रियाकलापविरुद्ध कडा निगरानी र कारबाही जारी रहने स्पष्ट पार्दै कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन आम नागरिकलाई आग्रह गरेको छ।


प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुडाल