विराटनगर ।
बाहिरबाट सामान्य देखिने चिया–नास्ता पसल, तर भित्र लुकेको थियो गाँजाको गोप्य कारोबार। विराटनगर महानगरपालिका–१५ मा सञ्चालन हुँदै आएको यस्तै एक पसलमा प्रहरीको छापामारीपछि अवैध लागूऔषध कारोबारको पर्दाफास भएको छ।
इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक कविन राईको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा हिजो साँझ चिया नास्ता पसलमा छापा मारेको थियो। छापाका क्रममा पसलभित्र रहेको खाटमुनि लुकाइराखिएको अवस्थामा गाँजाका ७ वटा पोका फेला परेका छन्।
मनोज साहको घरमा सटर भाडामा लिएर चिया तथा नास्ता पसल सञ्चालन गर्दै आएकी भारत, बिहारकी अन्दाजी ४५ वर्षीया कविता यादवले लामो समयदेखि उक्त पसललाई गाँजा कारोबारको केन्द्र बनाउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनामा यादवका २८ वर्षीय छोरा मुन्नाकुमार यादव र मोरङको जहदा गाउँपालिका–१ का अन्दाजी १९ वर्षीय मञ्जितकुमार यादव पनि संलग्न रहेको खुलेको छ।
खानतलासीका क्रममा गाँजासँगै ससाना खाली प्लास्टिकका प्याकेटहरू भेटिनुले उक्त स्थानबाट गाँजाको खुद्रा बिक्रीसमेत हुँदै आएको आशंका बलियो बनेको प्रहरीको भनाइ छ। डिजिटल तराजुमा तौल गर्दा बरामद गाँजाको परिमाण ७ किलो १८० ग्राम रहेको छ। घटनास्थलबाट बीआर ३८ क्यू ८९३६ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ। गाँजा कहाँबाट ल्याइन्थ्यो, कस–कसलाई बिक्री गरिन्थ्यो र यस कारोबारमा अन्य व्यक्तिहरूको संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।
सामान्य व्यवसायको आडमा हुने यस्ता अवैध गतिविधिले समाजमा नकारात्मक असर पारिरहेको भन्दै प्रहरीले लागूऔषध कारोबारविरुद्ध निगरानी थप कडा बनाइने जनाएको छ।