शोककै बीच विकासका सपना: एमाले उम्मेदवार विनोद ढकालले कोराबाटै सार्वजनिक गरे ३० बुँदे योजना

विराटनगर । निजी पीडाको कठिन घडीमा पनि सार्वजनिक जिम्मेवारीबाट नहट्ने सन्देश दिँदै मोरङ क्षेत्र नम्बर ६ का नेकपा (एमाले) उम्मेदवार विनोद ढकालले आफ्नो ३० बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। बुबाको निधनपछि धार्मिक परम्पराअनुसार ‘कोरा’ (शोक) मा रहेका ढकालले घरमै किरियापुत्रीको अवस्थामा बसेर मतदातासामु आफ्ना विकासका खाका प्रस्तुत गरेका हुन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका ढकालका १०१ वर्षीय बुबा विष्णुप्रसाद ढकालको गत बिहीबार निधन भएको थियो। चुनावी अभियानकै क्रममा पितृवियोग परेपछि उनी मतदाताको घरदैलोमा पुग्न सकेनन्। तर, विराटनगर–४ स्थित आफ्नै निवासबाट प्रतिबद्धता सार्वजनिक गर्दै उनले भावनात्मक र राजनीतिक दुवै सन्देश दिएका छन्।

डुबानदेखि उद्योगसम्म प्राथमिकता

ढकालको प्रतिबद्धतामा विराटनगर क्षेत्रको डुबान समस्या दीर्घकालीन रूपमा समाधान गर्ने योजना प्रमुख रूपमा समेटिएको छ। लामो समयदेखि अल्झिएको चक्रपथ (रिङरोड) निर्माणलाई गति दिने, गछिया, बुढीखोला, केशलिया र सिंघीया नदी नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता उनले जनाएका छन्।

बन्द तथा रुग्ण उद्योग पुनः सञ्चालन, मजदुर–मैत्री नीति निर्माण र साना तथा घरेलु उद्योग प्रवर्द्धनलाई पनि उनले आफ्नो प्राथमिक एजेन्डा बनाएका छन्।

शिक्षा, प्रविधि र पहिचानको कुरा

विद्यालयमा स्मार्ट क्लासरुम विस्तार, नयाँ पुस्तालाई प्रविधिमार्फत उत्पादन र स्वरोजगारसँग जोड्ने तथा व्यवहारिक शिक्षामा जोड दिने विषय प्रतिबद्धता पत्रमा उल्लेख छ। गुरुकुल र मदरसा शिक्षालाई विश्वविद्यालय प्रणालीसँग जोड्ने, थारु ग्राम तथा स्थानीय संस्कृतिको संरक्षण गर्ने योजना पनि ढकालले अघि सारेका छन्।

पर्यटन र कृषिमा सम्भावना

सुन्दरहरैंचाको छ पोखरी, बुढीगंगाको सिंघीया खोला, बौराहाको मधुपार्क र हसिना सिमसारलाई व्यवस्थित गर्दै प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको छ। कोशी नहर क्षेत्रलाई ‘हरियाली सडक सञ्जाल’ का रूपमा विकास गर्ने र कृषकका लागि मल, बीउ तथा सिँचाइमा सहज पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता पनि समेटिएको छ।

भावुक सन्देश

पितृशोकका कारण भौतिक रूपमा मतदातामाझ पुग्न नसकेको स्वीकार गर्दै ढकालले भने, “म घरमै बसेको छु, तर मेरो मन र सोच सधैँ मतदाताकै साथमा छ। साथीहरूमार्फत आउने सुझावहरूलाई म उच्च सम्मानका साथ ग्रहण गर्नेछु।” निर्वाचनको परिणाम जे आए पनि नागरिकका समस्या समाधानमा आफू निरन्तर सक्रिय रहने उनले प्रतिबद्धता जनाए।

यस क्षेत्रमा एमालेले निर्वाचन कमाण्डरको जिम्मेवारी लालबाबु पण्डित लाई दिएको छ। मोरङ–६ मा यसपटक प्रतिस्पर्धा कडा देखिएको छ। ढकालसँगै नेपाली कांग्रेस का डा. शेखर कोइराला, नेकपाका ओपेन्द्र राय र राष्ट्रिय स्वतन्त्र पार्टी की रुबिना आचार्य चुनावी मैदानमा छन्।