तलब नलिने घोषणामाथि ऋचा शर्माको टिप्पणी : ‘हकको तलब खाऊ, घुस नखाऊ’

काठमाडौँ।
अभिनेत्री ऋचा शर्मा ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङ को तलब नलिने घोषणाप्रति प्रतिक्रिया जनाउँदै तलब लिन र घुस नखान सुझाव दिएकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले राज्यबाट पाउने तलब र सुविधा हकको विषय भएकाले त्यसलाई अस्वीकार गर्नु उचित नहुने संकेत गरेकी हुन्। उनले ‘तलब खाऊ, घुस नखाऊ’ भन्दै सरकारी सेवा सुविधा पारदर्शी ढंगले प्रयोग गर्नुपर्नेमा जोड दिएकी छन्। साथै, नागरिकलाई निःशुल्क श्रम गर्न बाध्य पार्ने अवस्थालाई गलत भन्दै यस्तो प्रवृत्तिले राज्यलाई नै ‘पाप’ लाग्ने टिप्पणी गरेकी छन्।

मंगलबार ललितपुरमा आयोजित रास्वपाको अभिमुखीकरण कार्यक्रममा सांसद गुरुङले आफू आर्थिक रूपमा सक्षम रहेको उल्लेख गर्दै तलब, भत्ता तथा सरकारी सुविधा नलिने घोषणा गरेका थिए। उनको उक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ।

यसै सन्दर्भमा शर्माको टिप्पणी सार्वजनिक भएसँगै ‘तलब लिनु कि नलिनु उचित ?’ भन्ने विषयमा विभिन्न धारणा आउन थालेका छन्। केहीले गुरुङको निर्णयलाई नैतिक उदाहरणका रूपमा लिएका छन् भने अर्का पक्षले राज्यको प्रणालीभित्र रहेर काम गर्दा निर्धारित सुविधा लिनु नै उपयुक्त हुने तर्क गरिरहेका छन्।

सार्वजनिक व्यक्तित्वहरूबीच देखिएको यस्तो बहसले पारिश्रमिक, नैतिकता र सार्वजनिक जिम्मेवारीबारे नयाँ चर्चा सुरु गराएको छ।