विराटनगर । सीमा क्षेत्र हुँदै भन्सार छलीका सामान भित्र्याउने गतिविधि अझै सक्रिय रहेको संकेत दिने घटनामा मोरङ प्रहरीले विराटनगरबाट लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–५ को सडक किनारमा शंकास्पद रूपमा थुपारेर राखिएको अवस्थामा सामान फेला परेको हो। विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले निरीक्षण गर्दा ती सामान भारतबाट अवैध रूपमा भित्र्याइएको पुष्टि भएको जनाएको छ।
बरामद गरिएको सामग्रीमा १७६ थान कुर्ता–सुरुवाल सेट, ४५ केजी सुकेको खुर्सानी तथा भारतीय नम्बर प्लेट भएको मोटरसाइकल समावेश छन्। ती सबै सामान बेवारिसे अवस्थामा राखिएको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद सामग्री र सवारीसाधनको कुल अनुमानित मूल्य ३ लाख ५ हजार ३५० रुपैयाँ रहेको छ।
उक्त सामानहरू आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि रानी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
यस घटनाले सीमावर्ती क्षेत्रमार्फत हुने अवैध व्यापार अझै नियन्त्रण बाहिर नरहेको संकेत गरेको स्थानीयहरू बताउँछन्।




