चार जिल्लाबाट ब्राउन सुगरसहित ८ जना पक्राउ

विराटनगर, वैशाख १० गते ।

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाका विभिन्न स्थानबाट लागू औषध (ब्राउन सुगर) सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार वैशाख ९ गते झापाको अर्जुनधारा नगरपालिका–११ मा चेकजाँचका क्रममा लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी तथा अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको टोलीले स्थानीय २५ वर्षीय संजोग राई, २५ वर्षीय रुपेश दर्जी र ३७ वर्षीय अमृत दर्जीलाई २७ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर र बा.४० प ३९९४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

यस्तै, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ बाट इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले इनरुवा–२ का सैफ अली सिदिकीलाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। सोही जिल्लाको कोशी गाउँपालिका–१ बाट बराहक्षेत्र नगरपालिका–६ का हरीबहादुर श्रेष्ठलाई ५३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

मोरङको विराटनगर महानगरपालिका–१६ बाट इलाका प्रहरी कार्यालय रानी, रानी सीमा प्रहरी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले सुन्दरहरैंचा नगरपालिका–५ का समिर चौधरीलाई २१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

उदयपुरको बेलका नगरपालिका–१ मा प्रहरी चौकी भागलपुरबाट खटिएको टोलीले स १० प ७८०१ नम्बरको मोटरसाइकलमा सवार चौदण्डीगढी नगरपालिका–७ का आर्जु राई र पछाडि सवार श्यामकुमार कार्कीलाई १५५ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सबै व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।