दुर्गा प्रसाईंको घरमा प्रहरी खानतलासी, ६ मोबाइलसहित सीसीटीभीको डीभीआर नियन्त्रणमा

काठमाडौँ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासबाट प्रहरीले विभिन्न विद्युतीय सामग्री नियन्त्रणमा लिएको छ ।

लघुवित्त पीडितको आन्दोलनसँग प्रसाईंको संलग्नता रहेको आशंकामा निगरानी बढाइरहेको प्रहरीले बिहीबार उनको निवासमा खानतलासी गरेको हो । खानतलासीका क्रममा प्रसाईंले प्रयोग गर्ने मोबाइलसहित ६ थान मोबाइल, एउटा ल्यापटप र घरमा जडान गरिएको सीसीटीभीको डीभीआर बक्स प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापाको नेतृत्वमा गएको टोली तथा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले घरमा खानतलासी गरेको हो ।

प्रहरीका अनुसार पछिल्लो समय लघुवित्त पीडितहरूलाई आन्दोलनमा सक्रिय गराउन प्रसाईंले भूमिका खेलेको आशंका गरिएको छ । लघुवित्त पीडितहरूले केही दिनयता ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अगाडि धर्ना दिँदै आएका छन् ।

प्रहरीले आन्दोलनका क्रममा सम्भावित उत्तेजना वा अप्रिय गतिविधि हुनसक्ने भन्दै साउन ३१ गतेदेखि नै प्रसाईंमाथि निगरानी बढाएको बताएको छ । उनको निवास आसपासमा प्रहरीको नियमित निगरानीसमेत हुँदै आएको जनाइएको छ ।

प्रहरीका एक उच्च अधिकारीका अनुसार नियन्त्रणमा लिइएका मोबाइल, ल्यापटप र डीभीआरलगायत सामग्री अनुसन्धानका क्रममा आवश्यक प्रमाणका रूपमा परीक्षण गरिनेछ । प्रहरीले ती सामग्रीबाट आन्दोलन तथा पछिल्ला गतिविधिसँग सम्बन्धित सूचनाबारे अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।

यद्यपि, प्रहरीले नियन्त्रणमा लिएका सामग्रीबाट के–कस्ता तथ्य फेला परेका छन् भन्नेबारे भने तत्काल सार्वजनिक गरेको छैन ।