बसपार्क क्षेत्रका होटलमा शंकास्पद गतिविधि बढेको गुनासोपछि अनुगमन
विराटनगर । विराटनगरको बसपार्क आसपासका होटल तथा लजमा शंकास्पद गतिविधि हुने गरेको जनगुनासोपछि जिल्ला प्रहरी कार्यालय मोरङले गरेको अनुगमनका क्रममा १७ जना युवतीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको नेतृत्वमा असोज १२ गते बसपार्क आसपासका होटल तथा लजमा गरिएको अनुगमनका क्रममा उनीहरूलाई अपरिचित पुरुषहरूसँग एउटै कोठामा भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पछिल्लो केही दिनदेखि बसपार्क क्षेत्रका होटल तथा लजमा शंकास्पद तथा अनैतिक गतिविधि हुने गरेको भन्दै प्रहरीमा विभिन्न माध्यमबाट गुनासो आएको थियो । सोही आधारमा प्रहरीले होटल तथा लजमा निगरानी बढाउँदै अनुगमन गरेको हो ।
अनुगमनका क्रममा विभिन्न होटलका कोठामा युवतीहरू अपरिचित पुरुषसँग भेटिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा केही युवतीले आफूहरू प्रेमी–प्रेमिका भएको बताएका थिए भने केहीले साथीको रूपमा होटलमा आएको बताएका थिए ।
प्रहरीले भने उनीहरूको भनाइ मात्रका आधारमा निष्कर्ष ननिकाली घटनाको वास्तविकता र होटलमा भएको गतिविधिबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बसपार्क क्षेत्रका होटल तथा लजमा ग्राहकका रूपमा आउने व्यक्तिहरूको विवरण, होटलमा प्रवेश तथा बसाइको अवस्था र शंकास्पद गतिविधिबारे समेत प्रहरीले निगरानी बढाएको छ ।
प्रहरीले होटल व्यवसायीहरूलाई होटल तथा लजमा हुने गतिविधिप्रति जिम्मेवार बन्न र कानूनविपरीतका क्रियाकलाप हुन नदिन सचेत गराएको छ ।
प्रहरीको अनुगमनपछि नियन्त्रणमा लिइएका १७ युवतीमाथि थप सोधपुछ तथा अनुसन्धान भइरहेको र अनुसन्धानबाट खुलेको तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।




