विराटनगर । विराटनगरमा नेपाली नागरिकको नाममा दर्ता गरिएको पसलमा भिसाको उद्देश्यविपरीत व्यवसाय सञ्चालन गरेको आरोपमा १० जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–२ स्थित एभरपिक सप्लायर्समा सोमबार साँझ संयुक्त अनुगमनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय विराटनगरको टोलीले संयुक्त रूपमा अनुगमन गर्दा नेपाली नागरिकको नाममा दर्ता रहेको उक्त पसल चिनियाँ नागरिकले सञ्चालन गरिरहेको फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका चिनियाँ नागरिकले उद्योग विभागबाट सिफारिस प्राप्त गरेको भिसा लिएका थिए । तर, भिसा प्राप्तिको उद्देश्यअनुसारको काम नगरी करिब १६० प्रकारका घरेलु सामान बिक्री गर्ने पसल सञ्चालन गरिरहेको अनुगमनका क्रममा खुलेको हो ।
उनीहरूले सञ्चालन गरेको व्यवसाय र उनीहरूको भिसासम्बन्धी कागजातबीचको विषयमा थप अनुसन्धान आवश्यक देखिएपछि १० जना चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि अध्यागमन विभाग, काठमाडौं पठाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीले भिसाको उद्देश्य, व्यवसाय सञ्चालनको कानुनी हैसियत तथा पसल नेपाली नागरिकको नाममा दर्ता गरी विदेशी नागरिकबाट सञ्चालन गरिनुको अवस्थाबारे थप अनुसन्धान गर्ने जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार असोज १२ गते साँझ करिब ५ बजे संयुक्त अनुगमनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।




