जुवा खेलिरहेको आरोपमा भाग्ने क्रममा छतबाट खसेका विराटनगरका एक जनाको मृत्यु

विराटनगर । विराटनगरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीको गस्ती टोली पुगेपछि भाग्ने क्रममा छतबाट खसेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको दुईतले घरको छतमा सोमबार राति जुवा–तास खेलिरहेको समूहलाई प्रहरीले देखेपछि उनीहरू भाग्ने क्रममा घटना भएको हो ।

प्रहरीको गस्ती टोलीलाई देखेपछि छतबाट भाग्ने क्रममा विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइराला र विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया घाइते भएका थिए । दुवैलाई तत्काल उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो ।

उपचारपछि कोइराला डिस्चार्ज भएर जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएका थिए । तर, मंगलबार बिहान करिब ६ः४५ बजे बिरामी भएपछि पुनः कोशी अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि नोबेल अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।

नोबेल अस्पतालमा उपचार भइरहेका कोइरालालाई चिकित्सकले बिहान १०ः४५ बजे मृत घोषणा गरेका थिए । उनको शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले सरोचिया क्षेत्रबाट जुवा–तासमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट नगद ४५ हजार ३ सय ९५ रुपैयाँ र तास बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी र ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामत रहेका छन् ।

पक्राउ परेकाहरूविरुद्ध म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।