विभिन्न मुद्दाका ७ फरार प्रतिवादी पक्राउ

विराटनगर । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ७ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

अपराध नियन्त्रण तथा फैसला कार्यान्वयनका लागि परिचालित प्रहरी टोलीले खोजतलासका क्रममा असोज १२ गते झापाबाट ३ जना, मोरङबाट २ जना र सुनसरीबाट २ जना गरी ७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्येबाट अदालतले तोकेको १० वर्ष ५ महिना २६ दिन कैद सजाय कार्यान्वयनका साथै ३ लाख ३० हजार ५ सय रुपैयाँ जरिवाना असुल गरिएको छ।

पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तानका लागि सम्बन्धित कारागारमा पठाइएको प्रहरीले जनाएको छ।