विराटनगर । फोटोग्राफर संघ मोरङले मोरङ जिल्लामा पहिलोपटक ‘फोटो भिडियो एक्सपो २०८३’ आयोजना गर्ने भएको छ। फोटो तथा भिडियो क्षेत्रमा विकसित हुँदै आएका आधुनिक प्रविधि, उपकरण र सिर्जनात्मकताबारे जानकारी गराउने तथा यस क्षेत्रको व्यावसायिक सम्भावना विस्तार गर्ने उद्देश्यले एक्सपो आयोजना गर्न लागिएको हो।
फोटोग्राफर संघ मोरङका अनुसार एक्सपो २०८३ साल असोज १७ र १८ गते विराटनगर बसपार्कदेखि उत्तरतर्फ रहेको आर। के। पार्टी प्यालेसमा दुई दिन सञ्चालन हुनेछ।
फोटोग्राफी तथा भिडियोग्राफी केवल व्यवसाय नभई समाज, संस्कृति, कला, इतिहास तथा महत्वपूर्ण घटनाहरूको अभिलेखीकरण गर्ने महत्वपूर्ण माध्यम भएकाले पछिल्लो समय विकसित प्रविधिलाई आम नागरिक, व्यवसायी, विद्यार्थी तथा नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले एक्सपो आयोजना गर्न लागिएको संघले जनाएको छ।
एक्सपोमा क्यामेरा, लेन्स, स्टुडियो तथा आउटडोर लाइटिङ, भिडियो उपकरण, प्रिन्टिङ प्रविधिलगायत फोटो तथा भिडियो क्षेत्रमा प्रयोग भइरहेका आधुनिक उपकरण तथा सेवाहरूको प्रदर्शनी गरिनेछ। सहभागीहरूले नयाँ प्रविधि र उपकरणबारे प्रत्यक्ष जानकारी लिन सक्ने आयोजकले जनाएको छ।
त्यसैगरी, फोटो तथा भिडियो व्यवसायसँग सम्बन्धित व्यवसायी, विज्ञ तथा सरोकारवालाबीच अन्तरक्रिया तथा जानकारीमूलक कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी गरिएको छ। स्थानीय फोटोग्राफर तथा भिडियोग्राफरले उत्पादन गरेका सिर्जनालाई प्रवर्द्धन गर्ने तथा व्यवसायमा देखिएका चुनौती र सम्भावनाबारे छलफल गर्ने कार्यक्रम पनि एक्सपोको आकर्षणका रूपमा रहनेछ।
आयोजकका अनुसार एक्सपोले फोटोग्राफी तथा भिडियोग्राफी क्षेत्रमा आबद्ध व्यवसायीबीच आपसी सम्बन्ध र सहकार्य विस्तार गर्न, नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न तथा पेशालाई थप मर्यादित, व्यावसायिक र प्रविधिमैत्री बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
फोटोग्राफर संघ मोरङले एक्सपो फोटोग्राफर र भिडियोग्राफरहरूका लागि मात्र नभई फोटो तथा भिडियो प्रविधिमा रुचि राख्ने सबैका लागि साझा कार्यक्रम भएको जनाएको छ। संघले मोरङ तथा कोशी प्रदेशमा रहेका फोटोग्राफर, भिडियोग्राफर, सञ्चारकर्मी, विद्यार्थी, व्यवसायी, कलाकार, नवप्रतिभा तथा आम नागरिकलाई एक्सपोमा उपस्थित भई अवलोकन गर्न आह्वान गरेको छ।
एक्सपो सफल बनाउन सरकारी तथा गैरसरकारी निकाय, संघसंस्था, व्यवसायी, सञ्चारमाध्यम, फोटो तथा भिडियो क्षेत्रसँग सम्बन्धित कम्पनी र शुभेच्छुकहरूको साथ, सहयोग तथा सहकार्यको अपेक्षा गरिएको आयोजकले जनाएको छ




