विराटनगर । मोरङको विराटनगरबाट २३.२६ ग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ का २५ वर्षीय सरोज तिबारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज १५ गते विराटनगर महानगरपालिका–१६ दरैयास्थित क्षेत्रमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तिबारीलाई शंका लागेर चेकजाँच गरिएको थियो। इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट २३.२६ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।
लागूऔषधसहित फेला परेपछि प्रहरीले तिबारीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा ल्याएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।




