
विराटनगर । विद्युत् आफैंमा जोखिम होइन, तर यसको प्रयोगमा हुने सामान्य असावधानीले ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै विराटनगरमा विद्यार्थीलाई
नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले झोराहाटस्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा बुधबार आयोजना गरेको विद्युतीय सुरक्षा सचेतना कार्यक्रममा विद्यार्थीलाई विद्युत्का तार, पोल, ट्रान्सफर्मर तथा विद्युतीय उपकरणसँग खेलाँची नगर्न सचेत गराइएको हो।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश प्रमुख जितेन्द्रकुमार झाले विद्युत् आधुनिक जीवनको अभिन्न हिस्सा भए पनि यसको प्रयोगमा हुने सानो लापरबाहीले मानवीय क्षति निम्त्याउन सक्ने बताए। उनले विद्युत् चुहावट, नाङ्गा तार, क्षतिग्रस्त विद्युतीय उपकरण तथा भिजेको हातले उपकरण चलाउनेजस्ता कार्यबाट जोखिम बढ्ने भएकाले विद्यार्थीले घरदेखि विद्यालयसम्म सावधानी अपनाउनुपर्नेमा जोड दिए।
“विद्युतीय सुरक्षाको ज्ञान विद्यार्थी तहदेखि नै विकास गर्न सके दुर्घटना न्यूनीकरणमा ठूलो सहयोग पुग्छ,” झाले भने, “विद्यार्थी आफू सुरक्षित हुने मात्र होइन, परिवार र समुदायलाई समेत सुरक्षित प्रयोगबारे सचेत गराउन सक्छन्।”
कार्यक्रममा विद्युत् दुर्घटना हुनुअघि अपनाउनुपर्ने सावधानीसँगै दुर्घटना भइहालेमा तत्काल अपनाउनुपर्ने प्राथमिक उपायबारे समेत जानकारी दिइएको थियो। प्रशिक्षकहरू सुवोध ठाकुर, प्रविण पौडेल र रामशंकर यादवले विद्युत् उपकरणको सुरक्षित प्रयोग, जोखिम पहिचान र दुर्घटना न्यूनीकरणका उपायबारे प्रशिक्षण दिएका थिए।
विद्युत् प्राधिकरणका अनुसार विद्यालय तथा समुदायस्तरमा यस्ता कार्यक्रम सञ्चालन गर्नुको उद्देश्य विद्युत् प्रयोगसम्बन्धी ज्ञानलाई केवल सैद्धान्तिक विषयमा सीमित नराखी दैनिक व्यवहारसँग जोड्नु हो।
कार्यक्रममा विराटनगर वितरण केन्द्रका राम उदगार साह, झोराहाटका इन्चार्ज दिव्यप्रसाद खतिवडालगायतको उपस्थिति थियो। शिक्षक र विद्यार्थी गरी करिब ५० जनाको सहभागिता रहेको कार्यक्रममा सहभागीले विद्युतीय सुरक्षासम्बन्धी व्यवहारिक जानकारी उपयोगी भएको बताए।
कार्यक्रमको सञ्चालन दीपक नेपालले गरेका थिए।
विद्युत्को पहुँच विस्तारसँगै यसको प्रयोग पनि बढिरहेको अवस्थामा विद्यालय तहबाटै सुरक्षा सचेतना बढाउन सके घर, विद्यालय र समुदायमा हुने विद्युतीय दुर्घटना न्यूनीकरण गर्न सकिने आयोजकको विश्वास छ।




