

विराटनगर । मोरङको ग्रामथान–६ भरचोलगढीमा जारी तेस्रो मन्जिल स्मृति रानिगढी रनिङ कप फुटबल प्रतियोगिताको उपाधिका लागि ब्ल्याक डायमण्ड एफसी ग्रामथान र आयोजक मन्जिल रानिगढी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा पिके एफसी बाहुनीलाई २–१ गोलले हराउँदै ब्ल्याक डायमण्डले फाइनलमा स्थान सुरक्षित गरेको हो।
भरचोल खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा ब्ल्याक डायमण्डले सुरुदेखि नै जितको लक्ष्यसहित मैदानमा उत्रिँदै विपक्षी टोलीलाई दबाबमा राख्यो। हरि खवास र सिजल राईले एक–एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे। पिके एफसीका गोबिन लिम्बूले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
खेलमा प्रभावशाली प्रदर्शन गरेका ब्ल्याक डायमण्डका हरि खवास ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद एक हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक मन्जिल रानिगढी क्लबले खुकुरी एफसीलाई २–० गोलले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ। अब घरेलु मैदानमा उपाधि उचाल्ने लक्ष्यसहित आयोजक मैदानमा उत्रिँदा ब्ल्याक डायमण्ड भने जितको लय कायम राख्दै च्याम्पियन बन्ने दाउमा हुनेछ।
मन्जिल रानिगढी क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन्। आयोजक क्लबका अध्यक्ष कृष्णकुमार मण्डलका अनुसार प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँ र उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताको फाइनल खेल असोज २६ गते सोमबार हुने आयोजकले जनाएको छ। दुवै टोली उपाधिका लागि आमनेसामने हुने भएपछि फाइनल खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।




