
विराटनगर, असोज ३१। मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित नौ जनालाई पक्राउ गरेको छ। प्रहरीले असोज ३० गते छुट्टाछुट्टै स्थानमा कारबाही गरी उनीहरूलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी नगरपालिका–३ का सागर परियार र रुबिन लावती तथा वडा नं. २ का विप्लव खवासलाई प्रतिबन्धित औषधि ६ चक्कीसहित पक्राउ गरेको छ। सोही कार्यालयले २० वर्षीय रिजन राईलाई २० चक्की प्रतिबन्धित औषधिसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
त्यसैगरी, प्रहरी चौकी रमाइलोले लेटाङ नगरपालिका–३ का ३३ वर्षीय फिरोजकुमार विकलाई ६ ग्राम ४३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित बसपार्कबाट २० वर्षीय निश्चल खुलाल (बुढाथोकी), ३० वर्षीय नजाम हुसेन र २५ वर्षीय मोहम्मद नजामलाई ४२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।
यसैगरी, इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २७ वर्षीय विप्लव थापालाई ११२ चक्की प्रतिबन्धित औषधिसहित पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका नौ जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।





