पाथीभरामा असोजमै थपियो १६ लाख भेटी, तीन महिनामा ३३ लाख नाघ्यो

ताप्लेजुङ । वर्षायाम सकिएसँगै मौसम अनुकूल बन्दै जाँदा प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शनार्थीको चाप बढेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा मन्दिरमा ३३ लाख २६ हजार ६५० रुपैयाँ भेटी सङ्कलन भएको छ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउनदेखि असोजसम्म २० हजार ५२२ जना तीर्थयात्रीले मन्दिरमा दर्शन गरेका छन्। तीन महिनाको तथ्याङ्क हेर्दा असोजमा दर्शनार्थीको सङ्ख्या र भेटी सङ्कलन दुवै उल्लेख्य रूपमा बढेको देखिन्छ।

समितिको विवरणअनुसार साउनमा दुई हजार ४६९ जनाले दर्शन गर्दा तीन लाख १८ हजार ५०० रुपैयाँ भेटी सङ्कलन भएको थियो। भदौमा दर्शनार्थीको सङ्ख्या बढेर छ हजार १२३ पुग्यो भने भेटी १३ लाख ६७ हजार रुपैयाँ सङ्कलन भयो।

असोजमा मात्रै ११ हजार ९३० जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन्। उनीहरूबाट १६ लाख ४१ हजार १५० रुपैयाँ भेटी सङ्कलन भएको समितिले जनाएको छ। तीन महिनाको कुल दर्शनार्थीमध्ये आधाभन्दा बढी असोजमा आएका हुन्।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार वर्षायाम सकिएपछि मौसममा आएको सुधार र बडादसैँको नवरात्रका कारण असोजमा दर्शनार्थीको आगमन बढेको हो।

धार्मिक आस्थाको प्रमुख केन्द्रका रूपमा रहेको पाथीभरामा बढ्दो दर्शनार्थीको आगमनले भेटी सङ्कलनमा समेत वृद्धि भएको छ। भेटी सङ्कलन र दर्शनार्थीको सङ्ख्यालाई पारदर्शी बनाउन समितिले नियमित रूपमा विवरण सार्वजनिक गर्दै आएको छ।