डा. केसीको जीवन रक्षाका लागि चिकित्सक संघ आक्रामक, सरकारलाई ४८ घण्टे अल्टिमेटम

काठमाडौँ । वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीको आमरण अनसन लम्बिँदै जाँदा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै नेपाल चिकित्सक संघ सरकारप्रति आक्रामक बनेको छ। संघले डा. केसीका माग ४८ घण्टाभित्र सम्बोधन गर्न सरकारलाई अल्टिमेटम दिँदै अन्यथा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

२५औँ पटक आमरण अनसनमा रहेका डा. केसीको जीवन रक्षाका लागि सरकारले तत्काल गम्भीर पहल गर्नुपर्ने संघको माग छ। अनसन बसेको नौ दिन बितिसक्दा पनि सरकारले उनका मागप्रति चासो नदेखाएको भन्दै संघले असन्तुष्टि व्यक्त गरेको हो।

शुक्रबार जारी प्रेस विज्ञप्तिमा संघले डा. केसीको स्वास्थ्यमा देखिएका जटिलतालाई गम्भीर रूपमा लिन सरकारको ध्यानाकर्षण गराएको छ। उनको जीवन रक्षा र अनसन अन्त्यका लागि तत्काल वार्ता टोली गठन गरी जायज माग सम्बोधन गर्न संघले आग्रह गरेको छ।

यस विषयमा नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा पूर्वअध्यक्ष, पूर्वमहासचिव, विशेषज्ञ चिकित्सक समाजका प्रतिनिधि, अस्पताल निर्देशक, आवासीय चिकित्सक तथा अन्य चिकित्सकहरूको सहभागितामा बृहत् छलफलसमेत भएको संघले जनाएको छ।

संघले ४८ घण्टाभित्र माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने स्पष्ट पारेको छ। आन्दोलनका कारण सर्वसाधारण नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाइ भोग्नुपर्ने अवस्था आए त्यसको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने चेतावनीसमेत संघले दिएको छ।

चिकित्सा क्षेत्रको सुधार र नागरिकको स्वास्थ्य सेवासँग जोडिएका माग उठाउँदै पटक–पटक अनसन बस्दै आएका डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै जानु गम्भीर विषय भएको संघको निष्कर्ष छ। त्यसैले सम्भावित अप्रिय अवस्था आउन नदिन सरकारले तत्काल संवाद र सहमतिमार्फत समस्या समाधान गर्नुपर्ने संघको जोड छ।