विराटनगर । दुर्घटनामा परेर ट्याक्टर र त्यसमा लोड गरिएको गोलिया काठमुनि च्यापिएका मोरङका एक चालकले दुई घण्टाभन्दा बढी समय जीवनका लागि संघर्ष गर्नुपर्यो। स्थानीय र प्रहरी उद्धारमा जुटे पनि समयमै उनलाई बाहिर निकाल्न नसक्दा अन्ततः घटनास्थलमै उनको ज्यान गएको छ।
मोरङको कटहरी गाउँपालिका–६ सनिहाटस्थित भित्री सडकमा शुक्रबार दिउँसो भएको दुर्घटनामा धनपालथान गाउँपालिका–१ का ५५ वर्षीय सदानन्द साहको मृत्यु भएको हो।
थलाहाबाट नयाँ बजारतर्फ जाँदै गरेको को २ त ५७९६ नम्बरको गोलिया काठ लोड गरिएको ट्याक्टर दिउँसो करिब ३ः१० बजे अनियन्त्रित भएर सडकमा पल्टिएको थियो। ट्याक्टर पल्टिएपछि चालक साह त्यसमा लोड गरिएका काठसहितको भारमुनि च्यापिएका थिए।
स्थानीयका अनुसार सडक हिलाम्मे अवस्थामा रहेको र नहर कटाउने क्रममा ट्याक्टर पल्टिएको थियो। दुर्घटनापछि चालकले बाहिर निस्कन खोज्दा ट्याक्टर र काठले थिचेको प्रत्यक्षदर्शीको भनाइ छ।
दुर्घटनापछि साहको उद्धारका लागि स्थानीय र सुरक्षाकर्मीले प्रयास थाले पनि ट्याक्टरमा लोड गरिएका ठूला गोलिया काठ तत्काल पन्छाउन र ट्याक्टर उठाउन कठिन भएको थियो। प्रत्यक्षदर्शीका अनुसार साह दुई घण्टाभन्दा बढी समयसम्म ट्याक्टरमुनि छटपटाइरहेका थिए। उद्धारमा भएको ढिलाइका कारण उनको जीवन जोगाउन सकिएन।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी थलाहाबाट असई सञ्जयकुमार चौधरी र प्रहरी चौकी कटहरीबाट सई अशोक कार्कीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। पछि जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर बद्री दाहालको नेतृत्वमा थप प्रहरी टोलीसमेत परिचालन गरिएको थियो।
प्रहरी र स्थानीयको निरन्तर प्रयासपछि साँझ ५ः२० बजे ट्याक्टर र त्यसमा लोड गरिएका काठ पन्छाएर चालकलाई बाहिर निकालिएको थियो। तर, त्यतिबेलासम्म साहको मृत्यु भइसकेको मोरङका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनापछिको उद्धार व्यवस्थामाथि प्रश्न
यस घटनाले सडक दुर्घटना भएपछि घाइतेको तत्काल उद्धार गर्न आवश्यक उपकरण, दक्ष जनशक्ति र आपत्कालीन व्यवस्थापनको अभावबारे गम्भीर प्रश्न उठाएको छ। दुर्घटनामा परेका व्यक्तिलाई समयमै बाहिर निकाल्न सकिने उपकरण घटनास्थलमा उपलब्ध नहुँदा उद्धारमा ढिलाइ हुने अवस्था देखिएको छ।
विशेषगरी ट्याक्टर, ट्रक तथा भारी सवारीसाधन पल्टिएर चालक वा यात्रु च्यापिने घटनामा तत्काल प्रयोग गर्न सकिने हाइड्रोलिक उद्धार उपकरण, क्रेन र तालिमप्राप्त उद्धार टोलीको व्यवस्था आवश्यक देखिन्छ।
साहको मृत्यु एउटा सवारी दुर्घटनाको तथ्यांकमा सीमित नहोस्। दुर्घटनापछि घण्टौँसम्म च्यापिएका व्यक्तिको उद्धार गर्न नसकिएको यो घटनाले मोरङमा आपत्कालीन उद्धार संयन्त्र कति प्रभावकारी छ भन्ने विषयमा सम्बन्धित निकायलाई जवाफदेही बन्नुपर्ने प्रश्नसमेत खडा गरेको छ।







