शसस्त्र प्रहरी रानीमा पहिलो पटक इमान्दार डिएसपी, तस्करको वेहाल

 


✍ सत्यनारायण शर्मा

विराटनगर जुटमिल भित्र रहेको शसस्त्र प्रहरी सिमासुरक्षा बल क्याम्प रानीमा पहिलो पटक इमान्दार डिएसपी विकास खतिवडा आएपछि आम जनताले चौक–चौकमा, चिया पसलमा सकारात्मक चर्चा गर्न थालेका छन् । जसलाई तस्करी गर्नु छैन, जसलाई राष्ट्रप्रतिको माया छ, उनीहरूले डिएसपीलाई साथ सहयोग गर्नुका साथै सूचना दिएर पनि मद्दत गरिरहेका छन् ।

तर तस्करहरू भने डिएसपीलाई गालीगलौज गर्ने, सराप्ने काम गर्दै आएका छन् । किनभने अघिल्ला डिएसपीहरूले तस्करीलाई खुलेआम सहयोग गरेको र आर्थिक लाभ लिएको आरोप लागेको थियो । तीमध्ये एक डिएसपीलाई विभागले समयमै ड्युटीबाट तानेर ‘ग्रेड घटुवा’ समेत गरेको थियो ।

त्यो अनुभवलाई स्मरण गर्दै हालका डिएसपी खतिवडाले आफु कहिल्यै कारवाहीमा नपरोस् भन्ने हेतुले कुनै आर्थिक प्रलोभन स्वीकार नगरेका हुन् । तस्करहरूले कार्यालयमै हुल बनाएर ‘लाइन’ माग्दा, ठूलो रकम दिने प्रलोभन देखाउँदा समेत उनले स्वीकार गरेनन् । बरु सबैलाई लाइनमा उभ्याएर सम्झाउँदै भनेका थिए–

“अब तस्करी नगर्नुहोस् । तपाईंका हजुरबुवाले पनि यही काम गर्नुभयो, तपाईं आफैं पनि गर्दै आउनुभएको छ । तर अब त तपाईंका छोराछोरीले कहिले यस देशका सीडीओ, अधिकृत, एसपी, डिएसपी, आर्मी वा मन्त्री बन्ने ? तपाईँहरूले अर्को रोजगारी नपाएसम्म दिनमा १० पिस कपडा बोक्न दिन्छु । त्यसबाट ५०० रुपैयाँ कमाउन सक्नुहुन्छ, जसले तपाईंको परिवारलाई भात खान पुग्छ ।”

त्यसपछि एक तस्करले ठुलो स्वरमा भने–

“मैले यही तस्करी गरेर छोरीलाई डाक्टर बनाएको हुँ । तपाईंले ‘लाइन’ नदिए पनि हामी तस्करी छाड्दैनौँ । दिउँसो तपाईंको, राति हाम्रो । साहस छ भने हाम्रो सामान समाएर देखाउनुहोस् ।”

तर डिएसपी खतिवडा पैसाको लोभमा परेनन् । पहिलेभन्दा दोब्बर रकम दिन खोज्दा पनि अस्वीकार गरे । अहिले पनि उनी मात्र इमान्दार छन्, जबकि धेरै सिपाही, हवल्दार, सई, असई, इन्स्पेक्टरले भने घुस खाँदै तस्करलाई सहज बनाइरहेका छन् ।

डिएसपी खतिवडाले स्थानीय जनताको सूचनाको आधारमा लाखौँ मूल्य बराबरको सरसामान पक्राउ गर्दै आएका छन् । उनी मातहतका जवानहरूलाई ड्युटीमा पठाउँदा “आज कसैसँग घुस खाने छैनौँ” भनेर तामातुलसी छुवाएर कसम खान लगाउँछन् । तर पनि उनीहरू घुस खाँदै आएका छन् ।

ईमान्दार डिएसपीलाई एसपी, माथिल्लो दर्जाका अधिकारी, यहाँसम्म कि आफ्नै मातहतले समेत कमजोरी खोज्ने प्रयास गरिरहेका छन् । केही दिनअघि आफ्नै हाकिमको घर प्रयोजनका लागि भारतको जोगबनी बजारबाट ल्याउन खोजिएको १२ बट्टा पेन्ट (रंग) रोक्दा एसपी नै उनीविरुद्ध खनिएको आरोप लागेको छ ।

रानी बीओपीका इन्चार्जलाई हटाउन तस्करहरूले नेताहरूको ढोका ढक्ढकाउन थालेका छन् । केही नेताहरू अघिसम्म तस्करीबाट मोटा रकम खाँदै आएका थिए । “डिआईजीलाई मैले ल्याएको हो, हाम्रो पार्टीको मान्छे हो” भनेर ढुक्क पारेर रकम उठाउने नेताहरू अहिले पैसा नपाएपछि असन्तुष्ट बनेका छन् ।

डिएसपी खतिवडा आएपछि भारतबाट आउँदै आएका तरकारीदेखि घोंगीसम्ममा रोक लगाइयो । पहिले वर्षमा करिब एक करोड मूल्य बराबरको सामान भन्सार बुझाइन्थ्यो भने अहिले लाखौँ मूल्य बराबरको सामान मात्र भन्सारमा पुगेको छ ।

निकट भविष्यमा हिन्दूहरूको महान् पर्व विजया दशमी आउँदैछ । यस समयमा भारतबाट आउने कपडाको बिक्री धेरै हुने भएकाले तस्करहरूको ‘सिजन’ पनि यही हो । उनीहरू भन्छन्–

“दशैंको कपडा पातलो हुन्छ, धेरै वोक्न मिल्छ । एक वर्षभरि नगरे पनि दशैंमा मात्र तस्करी गरे पुग्छ । तर जाडोमा कपडा बाक्लो हुने भएकाले तस्करी फाइदाजनक हुँदैन ।”

तर इमान्दार डिएसपी खतिवडाले यस वर्ष तस्करलाई ठूलो चुनौती दिएका छन् ।