
सत्यनारायण शर्मा
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले आ.व. २०८१/८२ मा विभिन्न किसिमका २८ हजार ३ सय ५५ नागरिकता वितरण गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी सरोज कोइरालाका अनुसार सो अवधिमा वंशज नागरिकता २७ हजार १ सय २१, वैवाहिक अङ्कित १ हजार १ सय २२ र गैरअवासीय १ सय १२ जनाले नागरिकता प्राप्त गरेका हुन्।
यसै अवधिमा २६ हजार ४ सय २६ नागरिकताको प्रतिलिपि निकालिएको छ भने ९८ जनाले नागरिकता परित्याग गरेका छन्। त्यस्तै ८ वटा नागरिकता रद्द गरिएको कार्यालयले जनाएको छ।
राष्ट्रिय परिचयपत्र र राहदानी
गत वर्ष मोरङमा २६ हजार ९ सय २५ राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ भने ७८ हजार ६ सय ८८ जनाले नयाँ दर्ता गरेका छन्।
राहदानी सेवामा पनि उल्लेख्य उपलब्धि भएको छ। कार्यालयले एक वर्षमा ३१ हजार १ सय ४१ राहदानी वितरण र २८ हजार ६ सय ३३ सिफारिस गरेको छ।
पीडितलाई करिब ढाई करोड सहयोग
कार्यालयले विभिन्न विपत्मा परेकालाई २ करोड ४३ लाख ९ हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको जनाएको छ।
मुद्दा र संस्था दर्ता
एक वर्षमा ३ सय ६० मुद्दा दर्ता भएकोमा ४ सय ७७ मुद्दा फर्छ्योट गरिएको छ। गत वर्ष बाँकी रहेका ४ सय ३५ मुद्दामध्ये ३ सय २७ फर्छ्योट भएको छ।
त्यस्तै, १ सय २८ नयाँ संस्था दर्ता हुनुका साथै ९ सय ९६ संस्था नवीकरण भएका छन्।
अन्य कामहरू
हातहतियारतर्फ १ सय ५३ नविकरण र ५ नामसारी गरिएको छ। यस वर्ष कुनै पनि पत्रपत्रिका वा छापाखाना दर्ता नभएको कार्यालयले जनाएको छ।
यस्तै, भारतिय पेन्सन सिफारिस २०९ जनालाई र व्यक्तिगत प्रमाणित सिफारिस ३०५ जनालाई गरिएको छ।