विराटनगरमा दुई लाखभन्दा बढी मूल्यको लेदर ज्याकेट र सुज बरामद

 

विराटनगर । भारतबाट अवैध रूपमा भित्र्याउँदै गरिएको अन्दाजी दुई लाख पचास हजार रुपैयाँ बराबरको छालाको ज्याकेट र पार्टी सुज विराटनगरमा बरामद गरिएको छ ।

नेपाल–भारत सीमास्थित रानी हनुमान मन्दिर नजिक मारुती भेन ना १ च ९३५४ मार्फत जोगबनीबाट सामान ल्याउँदै गरेको अवस्थामा शसस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म रानीको टोलीले शुक्रबार साँझ उक्त भेन नियन्त्रणमा लिएको हो ।

सप्रनाउ विकास खतिवडाको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले सो भेन रोकेर जाँच गर्दा ठूलो परिमाणमा छालाको ज्याकेट र पार्टी सुज फेला परेको हो । बरामद गरिएको सामानको अनुमानित मूल्य करिब अढाइ लाख रुपैयाँ बराबर रहेको समाचार स्रोत्रको दावी छ ।

प्रहरीले भेन चालक फर्के आलम विराटनगर–१७, रानी, करिब ४० वर्षे लाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । हाल आलमलाई इलाका प्रहरी कार्यालय रानीमा राखी आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।