लागूऔषध खैरो हेरोइनसहित दुई युवक पक्राउ

विराटनगर, कार्तिक २० ।
मोरङ प्रहरीले खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

मोरङ जिल्लाको विराटनगर महानगरपालिका–५ पलुचोक नजिक हुलाकी सडक छेउमा मिति २०८२ साल कार्तिक १९ गते साँझ करिब ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा दुई युवकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा सुनसरी जिल्ला देवानगञ्ज गाउँपालिका–२ का १९ वर्षीय बिकास कुमार यादव र भारत, बिहार पुर्णिया जिल्ला भवानीपुर निवासी १९ वर्षीय कृष्ण कुमार झा रहेका छन् । उनीहरू सवारी दर्ता नम्बर धप ६३ प ४५७७ भएको स्कुटरमा सवार थिए ।

प्रहरीले जाँच गर्ने क्रममा कृष्ण कुमार झाको साथबाट खैरो हेरोइनजस्तो देखिने करिब ५३.१७ ग्राम पदार्थ फेला परेको जनाएको छ । बरामद लागूऔषधसहित दुबैजनालाई स्कुटरसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।