प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा खोटाङको निरीक्षण, समुदायसँग सहकार्य गर्दै शान्ति सुरक्षालाई अझ प्रभावकारी बनाउन निर्देशन
????????????????????????????????????

विराटनगर, कार्तिक २४ गते।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले शुक्रबार जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले कार्यालयका सम्पूर्ण शाखाहरूको अवलोकन गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिनुभएको हो।

निरीक्षणका क्रममा डीआईजी कार्कीले दुर्गम पहाडी ग्रामीण बस्तीहरूमा समुदायसँग सहकार्य गर्दै भेटघाट र सूचनाको आदान–प्रदानलाई अझ प्रभावकारी बनाई अपराध नियन्त्रण र शान्ति सुरक्षा मजबुत बनाउन निर्देशन दिनुभयो।

उहाँले प्रहरी जनताको सेवामा समर्पित रही, जस्तोसुकै कठिन परिस्थितिमा पनि पदिय जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न प्रहरीलाई आह्वान गर्नुभयो। साथै, खोटाङ जिल्लामा बढ्दै गएको आत्महत्याका घटनालाई नियन्त्रण गर्न जिल्ला अस्पताल र सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा परामर्श सेवा उपलब्ध गराउन पनि निर्देशन दिनुभयो।

प्रहरी प्रमुख कार्कीले नागरिक सचेतनाको कमीका कारण हुने अपराध तथा सवारी दुर्घटना न्यूनीकरणका लागि समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न र विपद् व्यवस्थापनमा जनधनको सुरक्षाका लागि कुनै पनि परिस्थितिमा विचलित नहुने गरी परिचालन हुन निर्देशन दिनुभयो।

निरीक्षणका क्रममा उहाँले कार्यरत प्रहरी कर्मचारीहरूको समस्या तथा सुझावसमेत सुन्नुभयो।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्था र अपराध नियन्त्रणको विवरण प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक रुकेश तण्डुकार, वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतसहित अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।