कोशी प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा खोटाङमा स्थानीय सरोकारवालासँग छलफल तथा अन्तरक्रिया
????????????????????????????????????

खोटाङ, कार्तिक २४ गते।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले शुक्रबार जिल्ला प्रहरी कार्यालय खोटाङमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, संघसंस्थाका पदाधिकारी र सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ।

निरीक्षण भ्रमणको क्रममा आयोजित सो कार्यक्रममा डीआईजी कार्कीले समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी सदैव जनताको सेवामा तैनाथ रहे पनि नागरिकको साथ, सहयोग र सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाई हातेमालो गर्दै अघि बढेमा मात्र शान्तिपूर्ण समाजको निर्माण सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा उपस्थित सहभागीहरूसँग उहाँले जिल्लाको शान्ति सुरक्षा अवस्था, प्रहरीसँगका अपेक्षा र उठेका जिज्ञासाहरूको सुनुवाइ गर्नुभयो। साथै, अपराध नियन्त्रण र सामाजिक सचेतना अभिवृद्धिका लागि स्थानीय सञ्चार माध्यमहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै सञ्चारकर्मीहरूलाई निरन्तर सहयोगका लागि आग्रह गर्नुभयो।

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले समाजमा शान्ति र सुरक्षा सुदृढ गर्न स्थानीय सरकार सदैव सक्रिय र सहकार्यपूर्ण रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सो अवसरमा कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक रुकेश तण्डुकार, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकी लगायतका प्रहरी अधिकृत तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।